काठमाडौं । जेनजी पुस्ताले भ्रष्टाचार अन्त्य, अभिव्यक्ति स्वतन्त्रता र युवा नेतृत्व सुनिश्चित गर्ने मागसहित सञ्चालन गरेको आन्दोलनले मुलुकलाई ठूलो क्षति पुर्याएको छ। सोमबार नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने क्रममा सुरु भएको भिडन्तपछि मंगलबार आन्दोलन अझै तीव्र बनेको थियो।
आन्दोलनमा ठूलो धनजनको क्षति भयो। जेनजी आन्दोलनमा नेताका घर, मन्त्री क्वाटरदेखि संसद भवनसम्म जले। अरबौंका संरचना ध्वस्त भए, बैंक लुटिए, नेता कुटिए र हजारौँ कैदीबन्दीहरू कारागारबाट भागे । होटल हिल्टनदेखि लिएर भाटभटेनी र अन्य निजी सम्पत्तिमाथि समेत आगजनी, तोडफोड र लुटपाट भयो ।
यसै क्रममा सिंहदरबारसहित देशभरका महत्वपूर्ण संरचनाहरूमा गम्भीर असर परेको छ। भूकम्पपछि भर्खरै पुनर्निर्माण सम्पन्न भएको पुरातात्विक महत्त्वको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर ध्वस्त भएको छ। गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयहरू विशेष प्रभावित बनेका छन्।
त्यति मात्र होइन सिंहदरबारभित्र रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) संसदीय दलका कार्यालयहरू पनि पूर्ण रूपमा जलेका छन्। त्यहाँ पार्किङमा राखिएका करिब एक हजार सवारी साधन तोडफोड र आगजनीमा परेका छन्। आन्दोलनकारीले कम्प्युटर, ल्यापटप, प्रिन्टर, कुर्सी लगायतका सामग्री तोडफोड गर्नुका साथै लुटपाट गरेको सम्बन्धित कर्मचारीहरूले बताएका छन्। यसबाट राज्यलाई अर्बौंको क्षति भएको अनुमान गरिएको छ। राष्ट्रिय अनुसन्धान विभाग, केन्द्रीय क्यान्टिन र दूध विकास संस्थानको बिक्री केन्द्रमा पनि तोडफोड र आगजनी भएको छ।
आगजनीका कारण राज्य सञ्चालनसँग सम्बन्धित धेरै कागजातहरू जलेर नष्ट भएका छन्। घटनापछि प्रमुख प्रशासनिक केन्द्र बुधबार सुनसान रह्यो। सिंहदरबार बाहिरको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय समेत पूर्ण रूपमा ध्वस्त भएको छ। उक्त कार्यालयले आगलागीबाट भवन, आवास, खाद्यान्न, करिब चार सय सवारी साधन र दुई लाखभन्दा बढी चालक अनुमतिपत्र जलेको जनाएको छ। मेट्रो ट्राफिक एफएम स्टेशन पनि क्षतिग्रस्त छ।
सर्वोच्च अदालत समेत यस आन्दोलनको प्रभावमा परेको छ। त्यहाँ रहेका अभिलेख, फैसला, मिसिल, कागजात तथा उपकरणहरू जलेर नष्ट भएको अदालत प्रशासनले जनाएको छ। हाल क्षति भएका संरचनाको सरसफाइ र व्यवस्थापन सुरु गरिएको छ। यसैबीच जेनजी पुस्ताले तय गरेको कार्यक्रममा नागरिकहरूले स्वेच्छाले फोहर व्यवस्थापनमा हातेमालो गरेका छन्।
भ्रष्ट नेताहरूप्रतिको आक्रोशका कारण जनताले आफूले तिरेको करबाट बनेका संरचना आफै ध्वस्त पारेका छन्। यसका अलावा आन्दोलनमा घुसपैठ भएको र विभिन्न स्वार्थ समूहले फाइदा उठाएको पनि जेनजी अभियान्ताहरूको दाबी छ।
जेनजी प्रदर्शनमा ३० को मृत्यु, एक हजारभन्दा बढी घाइते
जेनजी पुस्ताको आन्दोलनका क्रममा देशभर भएका हिंसात्मक गतिविधिबाट अहिलेसम्म ३० जनाले ज्यान गुमाएका छन् भने एक हजारभन्दा बढी घाइते भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालबाट संकलित विवरण सार्वजनिक गर्दै यो तथ्याङ्क पुष्टि गरेको हो।
मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार २९ वटा अस्पतालमार्फत प्राप्त तथ्यांकअनुसार ३० जनाको मृत्यु र १,०६१ जना घाइते उपचाररत रहेको देखिन्छ। मन्त्रालयले अस्पतालहरूसँग प्रत्यक्ष सम्पर्क गरेर जानकारी लिएको उनले बताए।
मृतकमध्ये निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना, काठमाडौं मेडिकल कलेज सिनामंगलमा २ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना, फ्रन्टलाइन अस्पतालमा ३ जना, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना र भेरी अस्पतालमा ५ जनाको निधन भएको छ।
यस्तै, हालसम्म २७४ जना बिरामी अस्पतालमा भर्ना भएर उपचाररत छन् भने ५६ जनालाई अवस्था अनुसार अर्को अस्पतालमा रिफर गरिएको मन्त्रालयले जनाएको छ। उपचारपछि ७१९ जना डिस्चार्ज भएर घर फर्किसकेका छन्।
सचिव देवकोटाका अनुसार हालमात्रै निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, वीर अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा २५, काठमाडौं मेडिकल कलेजमा २४ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जना उपचार गराइरहेका छन्।
सबैभन्दा धेरै घाइतेहरूको उपचार निजामती कर्मचारी अस्पतालमा भएको छ, जहाँ ४३६ जनाको उपचार गरिएको छ। त्यस्तै, ट्रमा सेन्टरमा १६१ जना र एभरेष्ट अस्पतालमा १०९ जना घाइतेलाई उपचार प्रदान गरिएको मन्त्रालयले जानकारी दिएको छ।


