आयातकर्ता व्यवसायी समस्यामा

चिनियाँ पक्षबाट पर्याप्त जाँच पास नहुँदा ल्हासामै रोकिए हजार बढी कन्टेनर

चिनियाँ पक्षबाट पर्याप्त जाँच पास नहुँदा ल्हासामै रोकिए हजार बढी कन्टेनर

ट्याक्स खबर
मंगलवार, आश्विन १४ २०८२
ट्याक्स खबर
मंगलवार, आश्विन १४ २०८२
  • images

    काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा चीनतर्फको तातोपानी नाकाहुँदै आउने नेपाली सामग्रीहरू अझै ल्हासामा अड्किएका छन्। नेपालले दैनिक १५० देखि २०० कन्टेनर जाँचपास गर्न अनुरोध गरे पनि चिनियाँ भन्सारले दैनिक १०/१५ कन्टेनर मात्रै पास गरिरहँदा ल्हासामा सामान रोकिएका छन्। 

    नेपाली व्यवसायीहरू भने तिहारसम्म यी सामान नेपाली बजारमा पुग्न नसक्ने चिन्तामा छन्। गत असार २४ मा रसुवागढीको मितेरी पुल बाढीले बगाएपछि त्यहाँको नाका बन्द भएको थियो। भदौको पहिलो सातादेखि तातोपानी नाकामा बारम्बार पहिरो जाँदा आवागमन पूर्ण रूपमा बन्द भएको थियो। हाल तातोपानी नाका सुचारु भए पनि चिनियाँ पक्षबाट पर्याप्त कन्टेनर जाँच नहुँदा आयात प्रभावित छ।

     नेपाल–हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार ल्हासादेखि खासासम्म १,००० देखि १,२०० कन्टेनर रोकिएका छन्। 

    “जाँचपासमा ढिलाइको कारण हामीलाई जानकारी दिइएको छैन, तर दैनिक १०–१२ कन्टेनर मात्र पास हुँदा धेरै समय लाग्ने देखिन्छ” कार्कीले भने, “मितेरी पुल तिहारसम्म बन्ने भनिएको छ, त्यसपछि केही सहज हुने अपेक्षा छ। तातोपानी बन्द हुँदा कोरलातर्फ डाइभर्ट गरिएका केही कन्टेनर आएका छन्, तर कोरला नाकाको दूरी लामो भएकाले व्यवसायीको रोजाइमा पर्दैन।” 

    यो दसैँमा पुरानै स्टक बिक्री हुने र तिहारमा नयाँ सामान बिक्री हुने व्यवसायीहरूको भनाइ छ। रसुवामा मितेरी पुलको पुनर्निर्माण भइरहेको छ, तर मौसम र भौगोलिक कठिनाइले असोजको पहिलो सातामा सकिनुपर्ने काम ढिलाइ भएको छ। 

    लामो समयदेखि अड्किएका सामानमा फलफूल, जुत्ता, ज्याकेट, कपडाजस्ता छिटो बिग्रने वस्तुहरू खराब हुन थालेको व्यापारीहरू बताउँछन्। गत असारको बाढीले रसुवामा १७ गाडी बगाएको थियो र त्यसयता नाका खुल्न सकेको छैन।

    सरकारले वैकल्पिक रूपमा केरुङ–कोरला नाका खोल्ने योजना बनाए पनि भन्सार संरचना नबन्दा र संरचना बने पनि दूरी लामो भएकाले लागत र समय बढ्ने व्यापारीहरूको भनाइ छ।

    केही व्यापारीले हल्का र कम तौलका सामान हवाई मार्गबाट ल्याउन थालेका छन्, तर यसले लागत धेरै बढाउँछ र ठूलो परिमाण वा मूल्यका सामान आयात गर्न गाह्रो हुन्छ। 

    संरचनागत कमजोरी र प्राकृतिक प्रकोपले वैकल्पिक मार्गहरू प्रभावकारी नहुँदा माग–आपूर्तिमा असन्तुलन देखिएको छ, जसले चाडपर्वमा उपभोक्तालाई महँगो मूल्य तिर्न बाध्य बनाउने र राजस्व सङ्कलनमा पनि असर पर्ने देखिन्छ।

    नेपाली बजारमा चिनियाँ सामानको कुल व्यापारको करिब ३५ प्रतिशत व्यापार दसैँ–तिहारको समयमा हुन्छ। तर, मुख्य नाका बन्द हुँदा यो दसैँमा नयाँ सामानको कारोबार विगतको तुलनामा कम हुने व्यवसायीहरूको अनुमान छ। 

    विगत तीन वर्षको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा तातोपानी र रसुवागढीबाट सबैभन्दा कम आयात भएको छ।

    चालु आर्थिक वर्षको साउनमा रसुवागढीबाट ३५ करोड ९८ लाख रुपैयाँको आयात भएको छ भने निर्यात शून्य छ। गत आर्थिक वर्ष २०८०/८१ को साउनमा ८५ अर्ब २३ करोड २३ लाख रुपैयाँको आयात र २ अर्ब ४ करोड ५२ लाख रुपैयाँको निर्यात भएको थियो। आर्थिक वर्ष २०७९/८० को साउनमा ६० अर्ब ९१ करोड २ लाख रुपैयाँको आयात र १ अर्ब ७३ करोड ६२ लाख रुपैयाँको निर्यात भएको थियो।

    यस्तै, तातोपानी नाकाबाट चालु आर्थिक वर्षको साउनमा २ अर्ब ८९ करोड ९८ लाख रुपैयाँको आयात भएको छ, तर निर्यात शून्य छ। गत आर्थिक वर्ष २०८०/८१ मा ५० अर्ब ३९ करोड ५८ लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० को साउनमा ४० अर्ब ३४ करोड ३३ लाख रुपैयाँको आयात भएको थियो।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend