विश्व बैंककाे बैठकमा ढकालकाे सहभागिता, लगानीका लागि बहुपक्षीय सहकार्य आवश्यक रहेकाेमा जाेड

विश्व बैंककाे बैठकमा ढकालकाे सहभागिता, लगानीका लागि बहुपक्षीय सहकार्य आवश्यक रहेकाेमा जाेड

ट्याक्स खबर
आइतवार, कार्तिक २ २०८२
ट्याक्स खबर
आइतवार, कार्तिक २ २०८२
  • images

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डी.सी.मा सम्पन्न विश्व बैंक वार्षिक बैठक २०२५ मा सहभागी भई विश्वका वित्तीय तथा विकास संस्थाका वरिष्ठ अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा उनले निजी क्षेत्रको विकास, ऊर्जा, पर्यटन, डिजिटल अर्थतन्त्र, पूर्वाधार जस्ता क्षेत्रहरूमा लगानीका लागि बहुपक्षीय सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्। 

    अर्थमन्त्री रामेश्वर खनाल राष्ट्र बैंकका गभर्नर डा. विश्वाथ पौडेल अर्थ सचिव डा.घनश्याम उपाध्याय तथा अन्य उच्चपदस्थ अधिकारीहरू सहितको नेपाली प्रतिनिधिमण्डलसँगै महासंघका अध्यक्ष ढकालले सो बैठकमा सहभागिता जनाएका थिए । बैठकका क्रममा अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक समूह, र अन्तर्राष्ट्रिय वित्त निगम (आइएससी) का वरिष्ठ प्रतिनिधिहरूसँग भेटवार्ता गरे। 

    उनले भने, “विश्व बैंक वार्षिक बैठक २०२५ मा आफ्ना आर्थिक प्राथमिकताहरू र वैश्विक साझेदारीका विषयहरु प्रस्तुत भएका छन् । हामीले पनि हाम्रा धारणा सशक्त रूपमा राखेका छौं । विश्व आर्थिक परिदृश्य, विकासका लागि वित्तीय स्रोत परिचालन, तथा दिगो आर्थिक वृद्धिमा निजी क्षेत्रको भूमिकाबारे व्यापक छलफल भएको छ ।” 

    सो अवसरमा अध्यक्ष ढकालले ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई) का प्रबन्ध निर्देशक नादाबा म्पोफु, आईएफएफका पूर्व प्रबन्ध निर्देशक तथा हाल युरोपियन सेन्ट्रल बैंक (इसीबी) का अध्यक्ष क्रिस्टिन लगार्डसँग पनि भेट गरेका थिए। त्यहा उनले नेपालका आर्थिक सम्भावना, वित्तीय क्षेत्रको सुदृढता, तथा दिगो लगानीका अवसरहरूबारे छलफल गरेका हुन्। 

    २५ औं वार्षिक बैठकमा नेपालको सहभागिताले दिगो आर्थिक वृद्धि र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग सम्बन्ध गहिरो बनाउने प्रतिबद्धतालाई जोड दिएको र यी छलफलहरूले सहकार्य र लगानीलाई वृद्धि गर्ने बाटो खोल्ने अपेक्षा गरिएको अध्यक्ष ढकालले बताएका छन्। 

    उनले भने, “यस्ता अन्तर्राष्ट्रिय बैठकहरूमा महासंघको सहभागिताले नेपालको आर्थिक कूटनीति सुदृढ गर्न, वैदेशिक लगानी आकर्षित गर्न, र निजी क्षेत्र तथा बहुपक्षीय संस्थाबीचको सहकार्य बलियो बनाउन मद्दत पुर्‍याउँछ । जसले नेपाललाई आर्थिक अवसरहरूको उदीयमान केन्द्रको रूपमा स्थापित गर्नेछ।”

    यी बैठकहरूले नेपालका आर्थिक प्राथमिकता प्रस्तुत गर्ने र अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्ने दिशामा एक महत्वपूर्ण कदम स्थापित गरेको महासंघले जनाएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend