निजी क्षेत्र–प्राधिकरण सहकार्य प्रस्ताव: विद्युत व्यापार र प्रसारण लाइनमा साझेदारी अपरिहार्य

निजी क्षेत्र–प्राधिकरण सहकार्य प्रस्ताव: विद्युत व्यापार र प्रसारण लाइनमा साझेदारी अपरिहार्य

ट्याक्स खबर
बिहिवार, पौष ३ २०८२
ट्याक्स खबर
बिहिवार, पौष ३ २०८२
  • images

    काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेट गरी विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा सहकार्यको प्रस्ताव राखेको छ ।

    बिहीबार भएको भेटमा इप्पानले निजी क्षेत्र प्रसारण लाइन निर्माणमा लगानी गर्न तथा विद्युत व्यापारमा समेत प्राधिकरणसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारेको छ । त्यसका लागि आवश्यक नीतिगत र कार्यान्वयनको वातावरण निर्माण गर्न पनि आग्रह गरिएको छ । निजी क्षेत्र र प्राधिकरणको सहकार्यमा निर्माणाधीन केही प्रसारण लाइन आयोजना छिट्टै सम्पन्न हुने चरणमा पुगेको उल्लेख गर्दै इप्पानले यस्तै मोडल अन्य आयोजनामा पनि लागू गर्न प्रस्ताव गरेको हो । साथै, प्राधिकरणले स्थापना गरेको विद्युत व्यापार कम्पनीमा निजी क्षेत्रलाई सेयरधनीका रूपमा सहभागी गराई त्यसमार्फत संयुक्त रुपमा विद्युत व्यापार अघि बढाउनुपर्ने सुझाव पनि दिइएको छ ।

    इप्पान अध्यक्ष गणेश कार्कीले प्रसारण लाइनको अभावका कारण ऊर्जा क्षेत्रमा गम्भीर समस्या देखिएको उल्लेख गर्दै निजी क्षेत्र प्राधिकरणसँग मिलेर समाधानमा जान तयार रहेको बताए । विद्युत व्यापारका लागि निजी क्षेत्रलाई प्रत्यक्ष अनुमतिपत्र नदिइएसम्म प्राधिकरणको व्यापार कम्पनीमार्फत निजी क्षेत्रको सहभागितामा कारोबार अघि बढाउन सकिने उनको भनाइ थियो । उनले विद्युत खरिद सम्झौता (पीपीए) तत्काल खुला गर्न, आरसीओडीको म्याद थप गर्न, कन्टिन्जेन्सी व्यवस्था तथा हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्ने मागसमेत राख्दै यी विषय तत्काल सम्बोधन हुनुपर्नेमा जोड दिए ।

    इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले निजी क्षेत्र र प्राधिकरण सँगसँगै अघि बढे मात्र ऊर्जा क्षेत्रको दिगो विकास सम्भव हुने बताए । उपाध्यक्ष उत्तम ब्लोन लामा, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाशचन्द्र दुलाललगायतले पनि उपयुक्त मोडल ल्याई निजी क्षेत्रलाई प्रसारण लाइनमा सहभागी गराउनुपर्ने धारणा राखे ।

    कार्यकारी निर्देशक शाक्यले निजी क्षेत्र समयमै प्रसारण लाइन निर्माण गर्न सक्षम रहेको उल्लेख गर्दै प्राधिकरण–निजी क्षेत्र संयुक्त रुपमा प्रसारण लाइन निर्माण गर्ने अभ्यास सुरु भइसकेकाले यसलाई अझ विस्तार गर्नुको विकल्प नभएको बताए । “प्रसारण लाइनको अभावकै कारण कन्टिन्जेन्सीजस्ता समस्या देखिएका हुन्, प्रसारण लाइन निर्माणले धेरै समस्या समाधान हुन्छ,” उनले भने, “प्राधिकरणसँग पर्याप्त बजेट नभएको अवस्थामा निजी क्षेत्रको लगानी भित्र्याउन सके मुख्य समस्या समाधान गर्न सकिन्छ ।”

    उनले उत्पादन र खपतबीच सन्तुलन कायम गर्न निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउनु आवश्यक रहेको बताउँदै प्राधिकरणको विद्युत व्यापार कम्पनीमा निजी क्षेत्रको सहभागिताबारे अध्ययन गरिने जानकारी दिए । साथै, विद्युत व्यापार कम्पनीलाई अझ सक्रिय बनाउने प्रयास भइरहेको पनि उनले बताए ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend