राहुघाट जलविद्युत् आयोजना ९० प्रतिशतभन्दा बढी सम्पन्न, चैत भित्रै परीक्षण उत्पादन लक्ष्य

राहुघाट जलविद्युत् आयोजना ९० प्रतिशतभन्दा बढी सम्पन्न, चैत भित्रै परीक्षण उत्पादन लक्ष्य

ट्याक्स खबर
शनिवार, पौष ५ २०८२
ट्याक्स खबर
शनिवार, पौष ५ २०८२
  • images

    म्याग्दी। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ।

    आयोजनाअन्तर्गत सुरुङ, बाँध र विद्युत्गृहका संरचना निर्माण तथा उपकरण जडान अन्तिम चरणमा पुगेका छन्। हाल उत्पादन भएको विद्युत् केन्द्रीय ग्रिडमा जोड्न स्वीचयार्ड निर्माणको काम भइरहेको छ। आयोजना व्यवस्थापक राज विष्टका अनुसार अबको करिब तीन महिनाभित्र, अर्थात् मार्च महिनामा परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँकी कामलाई पूर्णता दिइँदैछ।

    उनका अनुसार सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलसम्बन्धी कामहरू अन्तिम चरणमा पुगेका छन्। २०–२० मेगावाट क्षमताका टर्बाइन जडान भइसकेका छन् र ड्राइ टेस्टिङका लागि तयारी गरिएको छ।

    आयोजनाको सिभिल निर्माण ठेक्का भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) ले २०१७ नोभेम्बर १७ मा ६ अर्ब रुपैयाँमा लिएको थियो। ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य भए पनि विभिन्न कारणले म्याद पटक–पटक थपिँदै आएको छ। हाल चौथोपटक म्याद थप भई मार्च महिनासम्म कायम गरिएको छ।

    रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा तिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ।

    ठेकेदार कम्पनीका अनुसार कोरोना महामारी, बाढी, पहिरोजस्ता प्राकृतिक विपद् तथा नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजनामा ढिलाइ भएको हो।

    इलेक्ट्रोमेकानिकल उपकरण जडानका लागि भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग २०७६ कात्तिकमा करिब १ करोड २ लाख अमेरिकी डलरको सम्झौता गरिएको थियो। उक्त सम्झौताअनुसार अधिकांश उपकरण आयात भई जडानको काम भइरहेको छ।

    राहुघाट आयोजना भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडलमा अघि बढाइएको हो।

    यसअघि कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदारसँगको सम्झौता तोडेर नयाँ प्रक्रियाबाट आयोजना निर्माण अघि बढाइएको थियो। हालको ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो।

    आयोजनाले वार्षिक करिब २४ करोड ६ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ। उत्पादित विद्युत् कालीगण्डकी कोरिडोरअन्तर्गतको २२० केभी दाना–कुश्मा प्रसारण लाइनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ। प्रसारण लाइनका चारवटा टावर निर्माण भइसकेका छन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend