मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

ट्याक्स खबर
मंगलवार, पौष ८ २०८२
ट्याक्स खबर
मंगलवार, पौष ८ २०८२
  • images

    भद्रपुर (झापा)। चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका अनुसार जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७.५७ प्रतिशतले बढी हो ।

    गत आवको पहिलो पाँच महिनामा रु १८ अर्ब ७२ करोड ६३ लाखबराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा रु १० अर्ब ७१ करोड ५४ लाखबराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ ।

    गत आवको सोही अवधिमा रु ११ अर्ब ४७ करोड ९३ लाखको वस्तु तथा सामान निर्यात भएको थियो । यो नाकाबाट निर्यात ६.६५ प्रतिशतले घटेको छ ।

    पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत छन् भने आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन र तिनका पाटपुर्जा, सिमेन्ट क्लिङ्कर, शृङ्गारका सामान, कफी, प्लास्टिकका कच्चा पदार्थ, जुत्ता तथा चप्पल र खनिज उत्पादनलगायत छन । कार्यालयको तथ्याङ्क अनुसार चालु आव २०८२/८३ को मङ्सिर मसान्तसम्ममा आयात निर्यातबाट रु छ अर्ब ८२ करोड दुई लाख ७१ हजार राजस्व सङ्कलन भएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend