काठमाडौं। नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेट सेवालाई अझै गुणस्तरीय बनाउन वाइफाई ६ प्रविधिका राउटर (सीपीई) र एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने भएको छ। यससँगै अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट सेवा प्रदान गरिने टेलिकमले जनाएको छ।
यसअघि नेपाल टेलिकमले वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराउँदै आएकोमा अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी समेत उपलब्ध गराउन लागिएको हो। नयाँ प्रविधिका उपकरण प्रयोग गर्दा घर वा कार्यालयका विभिन्न स्थानमा वाइफाई सिग्नल कमजोर हुने समस्या कम हुने, इन्टरनेट स्पिड तीव्र हुने तथा धेरै डिभाइस एकैपटक कनेक्ट गर्दा पनि फुल स्पिडमा इन्टरनेट चलाउन सकिने टेलिकमको दाबी छ। साथै, डाटा ट्रान्सफर छिटो हुने, डिभाइसको ब्याट्री लाइफ बढ्ने र सेवा अझ सुरक्षित तथा भरपर्दो बन्ने बताइएको छ।
ग्राहकका लागि वाइफाई ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध हुनेछन्।
इन्डिभिजुअल प्याकेज अन्तर्गत
(१) इन्टरनेट र टेलिफोन प्याकेज,
(२) इन्टरनेट, बेसिक एनटीटीभी र टेलिफोन प्याकेज,
(३) इन्टरनेट, प्रिमियम एनटीटीभी र टेलिफोन प्याकेजमध्ये कुनै एक छनोट गर्न सकिनेछ।
त्यसैगरी प्रिमियम प्याकेज अन्तर्गत
(१) प्रिमियम इन्टरनेट प्याकेज वान्ली,
(२) प्रिमियम इन्टरनेट र बेसिक एनटीटीभी प्याकेज,
(३) प्रिमियम इन्टरनेट र प्रिमियम एनटीटीभी प्याकेजमध्ये कुनै एक रोज्न सकिने व्यवस्था गरिएको छ।
यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमतामा उपलब्ध हुनेछन् भने मोबाइलका लागि डाटा सुविधा पनि समावेश हुने टेलिकमले जनाएको छ।
वाइफाई ६ प्रविधिको सीपीई, एपी तथा एफटीटीएच सेवाका नयाँ दररेट र अन्य विस्तृत जानकारी नेपाल टेलिकमको वेबसाइट ntt.net.np मा उपलब्ध छ। साथै ‘नेपाल टेलिकम’ एपमार्फत प्याकेजसम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिनेछ। थप जानकारीका लागि १९८ मा कल गर्न वा नजिकको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्न सकिने टेलिकमले जनाएको छ।


