नेपालमा ११५० प्रजातिका च्याउ, १०० बढी विषालु, व्यावसायिक उत्पादनले निर्यातको आधार तयार हुँदै

नेपालमा ११५० प्रजातिका च्याउ, १०० बढी विषालु, व्यावसायिक उत्पादनले निर्यातको आधार तयार हुँदै

ट्याक्स खबर
मंगलवार, पौष १५ २०८२
ट्याक्स खबर
मंगलवार, पौष १५ २०८२
  • images

    काठमाडौं। च्याउको महत्वबारे प्रचार–प्रसार गर्दै गुणस्तरीय उत्पादन प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षाको अभिवृद्धि, आन्तरिक खपत विस्तार, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ आज पहिलोपटक राष्ट्रिय च्याउ दिवस मनाइँदैछ। नेपाल सरकारको पुस ११ गतेको निर्णयअनुसार आज उक्त दिवस मनाउन लागिएको हो।

    नेपालको कृषि गार्हस्थ्य उत्पादनमा करिब ० दशमलव १५ प्रतिशत योगदान रहेको च्याउ उपक्षेत्रमा करिब ३५ हजार किसान प्रत्यक्ष रूपमा संलग्न छन्। साना तथा मझौला कृषकका लागि आयआर्जनको महत्वपूर्ण माध्यम बनेको यस उपक्षेत्रमा गरिएको विभिन्न अध्ययनअनुसार नेपालमा पाइने १ हजार १५० प्रजातिका च्याउमध्ये १४७ प्रजाति खानयोग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १०० प्रजाति विषालु रहेका छन्।

    आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनको आधार तयार

    पछिल्ला केही वर्षयता उद्यमी र सरकारको सहकार्यका कारण च्याउको व्यावसायिक उत्पादन विस्तार हुँदै आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनको आधार तयार हुँदै गएको छ। कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा दुई हजार २६२ किलो ताजा वा चिस्यान गरिएको गोब्रे च्याउ रु ६ लाख ७१ हजार बराबरमा आयात गरिएको थियो। त्यही अवधिमा १७ हजार १९८ किलो च्याउ रु एक करोड एक लाख बराबरमा निर्यात भएको मन्त्रालयको तथ्याङ्क छ।

    हाल सुकाएको च्याउसमेत निर्यात हुन थालेको छ। अन्य खेतीको तुलनामा छिटो उत्पादन लिन सकिने, न्यून जमिन र कृषि सामग्रीबाट उत्पादन सम्भव हुने तथा नेपालको भौगोलिक र जलवायु विविधताका कारण वर्षभरि उत्पादन गर्न सकिने भएकाले च्याउ खेतीको व्यावसायिक उत्पादन र मूल्य शृङ्खला विकास स्वदेशमै रोजगारी सिर्जना, कृषि अर्थतन्त्रमा योगदान, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण मानिन्छ।

    देशका ७० जिल्लामा च्याउ खेती विस्तार भइसकेको छ भने ४० जिल्लामा व्यावसायिक रूपमा च्याउ उत्पादन हुँदै आएको छ। च्याउ उत्पादन किसान सङ्घ नेपालका अध्यक्ष सन्तोष कार्कीका अनुसार मुलुकभर विभिन्न जातका च्याउको उत्पादन र कारोबार करिब रु २० अर्बको हाराहारीमा पुगेको छ। उहाँका अनुसार नेपालमा सर्वप्रथम गोब्रे च्याउको उत्पादन र अनुसन्धान २०३०/३१ सालमा सुरु भएको हो।

    राष्ट्रिय कृषि अनुसन्धान परिषद्अन्तर्गत बाली रोग विज्ञान महाशाखाबाट च्याउखेती प्रविधिसम्बन्धी अध्ययन सफल भएपछि २०३७ सालदेखि विभिन्न स्थानका किसानलाई तालिम प्रदान गरी यसको विस्तार गरिएको हो। विसं २०३४/३५ सालदेखि काठमाडौँको बलम्बु, चापागाउँ, दधिकोट हुँदै देशका विभिन्न स्थानमा निरन्तर च्याउ खेती हुँदै आएको छ।

    च्याउ उत्पादन प्रवर्द्धन र व्यवसायीकरण कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्राथमिकतामा पर्दै आएको छ। हाल च्याउ प्रविधि विस्तार, बजारीकरण प्रवर्द्धन र नीतिगत सहजीकरणमार्फत मूल्य शृङ्खला विकासका कार्यक्रम कृषि विभागअन्तर्गत व्यवसायिक कीट विकास केन्द्रबाट सञ्चालन हुँदै आएका छन् भने अनुसन्धान तथा गुणस्तरीय बीउ आपूर्तिका लागि नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्रले कार्यक्रम सम्पादन गर्दै आएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend