रुकुम पश्चिम। भूकम्पले क्षतिग्रस्त भएको रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ भण्डारवनस्थित जनप्रिय आधारभूत विद्यालयको पुनर्निर्मित भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। विद्यालय भवनको पुनर्निर्माण सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमा सम्पन्न गरिएको हो।
२०८० कात्तिक १७ गते आएको विनाशकारी भूकम्पले विद्यालय भवनमा ठूलो क्षति पुर्याएको थियो। पुनर्निर्माणपछि तयार भएको भवनलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले विद्यालयका प्रधानाध्यापक हंसबहादुर खड्कालाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
नवनिर्मित भवनमा सुलभ पहुँचयुक्त शौचालयको व्यवस्था समेत गरिएको छ। भवन निर्माणपछि विद्यालयको शैक्षिक गतिविधि सहज, सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ बस्यालले विद्यालय भवन निर्माण केवल भौतिक संरचना निर्माण मात्र नभई भूकम्पपछिको पुनःस्थापना र बालबालिकाको सुरक्षित भविष्यप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए।
उनले विद्यालयलाई बालबालिकाको भविष्य निर्माण गर्ने आधारभूमि भन्दै गुणस्तरीय र समावेशी शिक्षामार्फत सक्षम नागरिक उत्पादन गर्न पूर्वाधार आवश्यक रहेको धारणा राखे।
बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै शिक्षा, सामाजिक विकास र समुदाय उत्थानका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
स्थानीय तहका प्रतिनिधिहरूले बैंकको सहयोगले दुर्गम क्षेत्रको शैक्षिक पूर्वाधार सुधारमा महत्वपूर्ण योगदान पुगेको बताएका छन्।


