काठमाडौं। वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली श्रमिकहरूमाथि साउदी सरकारले एकतर्फी रूपमा नयाँ आर्थिक र प्रक्रियागत भार थपेको छ। नेपाल सरकार र सरोकारवाला निकायहरूसँग कुनै ठोस समन्वय र सहमति नगरी साउदी अरबले सीप प्रमाणीकरण कार्यक्रम लागू गर्ने निर्णय गरेको हो।
बुधबार, १७ जुन २०२६ देखि आधिकारिक रूपमा कार्यान्वयनमा आउन लागेको यो नियमका कारण अब सीप परीक्षण पास नभए नेपाली श्रमिकहरू साउदी अरब जान पाउने छैनन्। सुरुवाती चरणमा ५ वटा पेशालाई अनिवार्य गरिएको यो कार्यक्रम विशेष गरी निर्माण क्षेत्रका सामान्य मजदुर, सामान लोड अनलोड गर्ने, भरिया र ठेला चलाउने जस्ता भुइँतहका श्रमिकहरू लक्षित छ।
सबैभन्दा उदेकलाग्दो पक्ष के छ भने, जुन कामदारहरू केवल आफ्नो शारीरिक श्रम बेच्न साउदी जाँदैछन्, उनीहरूका लागि ३ घण्टा लामो कम्प्युटर सैद्धान्तिक र प्रयोगात्मक परीक्षा अनिवार्य गरिएको छ। इँटाबालुवा बोक्ने, ठेला गुडाउने वा सामान ओसारपसार गर्ने कामका लागि कस्तो विशिष्ट सीपको परीक्षा लिन खोजिएको हो भन्ने कुरा आफैंमा विरोधाभासपूर्ण र अव्यावहारिक देखिन्छ। यसले सोझा र ग्रामीण भेगका श्रमिकहरूमाथि चरम मानसिक तनाव मात्रै सिर्जना गर्ने निश्चित छ।
विपन्न श्रमिकमाथि १५ हजारको सिधा आर्थिक शोषण
नयाँ नियम अनुसार प्रत्येक श्रमिकले परीक्षा शुल्कबापत ५० डलर र पूर्वसिकाइ मान्यता बापत ५० डलर गरी कुल १०० डलर (करिब १५ हजार नेपाली रुपैयाँ) बुझाउनुपर्नेछ। यो रकम श्रमिक आफैंले अन्तर्राष्ट्रिय भिसा वा मास्टर कार्डमार्फत अनलाइन भुक्तानी गर्नुपर्ने भनिएको छ।
गाउँघरमा साहुमबासँग ऋण काढेर, म्यानपावर र मेडिकलको खर्च जुटाउन धौ(धौ पर्ने नेपाली कामदारका लागि यो १५ हजार रुपैयाँ थपिनु भनेको ढाड सेक्ने निर्णय हो। डिजिटल साक्षरता नभएका र अन्तर्राष्ट्रिय कार्डको पहुँच नभएका यी श्रमिकहरू अनलाइन फारम भर्ने र शुल्क तिर्ने बहानामा फेरि पनि एजेन्ट र बिचौलियाहरूबाट ठगिने र थप असुलीमा पर्ने जोखिम झन् बढेको छ।
३ पटक मात्रै मौकाः अनुत्तीर्ण भए विदेश जाने सपना समाप्त
नयाँ कार्यविधि अनुसार यो परीक्षामा सहभागी भएका श्रमिक यदि अनुत्तीर्ण भएमा उसले बढीमा ३ पटक मात्रै मौका पाउनेछ। तीनै पटक असफल भएमा उक्त श्रमिक साउदी जानबाट वञ्चित हुनेछ। भाषा र प्रविधिको ज्ञान नभएका कतिपय जेहेन्दार र जाँगरिला नेपाली कामदारहरू यो प्राविधिक पास फेलको चक्रव्यूहमा परेर वैदेशिक रोजगारीको अवसरबाटै बाहिरिने खतरा बढेको छ।


