काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा साना र मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रमको घोषणा गरेको छ।
विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा बैंकको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस कार्यक्रमको विधिवत् घोषणा गर्दै देशभरका उद्यमीहरूबाट आवेदन आह्वान गरेका हुन्।
नवप्रवर्तनकारी व्यावसायिक सोच भएका व्यक्तिहरूलाई सफल उद्यमी बन्न प्रेरित गर्ने र सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायहरूलाई दिगो बनाउन आवश्यक सैद्धान्तिक एवं व्यावहारिक ज्ञान, सीप र परामर्श प्रदान गर्नु यस कार्यक्रमको उद्देश्य रहेको छ।
उद्यमशीलताको विकासका लागि बैंकले यस कार्यक्रमलाई मुख्यतया दुईवटा ढाँचामा सञ्चालन गर्नेछ।
इन्क्युबेसन कार्यक्रम नयाँ र नवप्रवर्तनकारी व्यावसायिक सोच भएका तर उद्यमशीलताको यात्रा कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवाहरूलाई लक्षित गरी डिजाइन गरिएको हो। यसअन्तर्गत उनीहरूको क्षमता अभिवृद्धि, व्यवसायको सञ्जाल विस्तार र मार्गनिर्देशन (मेन्टरसिप) प्रदान गरिनेछ।
एक्सिलेरेसन कार्यक्रम भने हाल सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा कठिनाइ भोगिरहेका उद्यमीहरूका लागि हो। यस अन्तर्गत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण र सरोकारवाला निकायहरूसँगको पहुँचमा सहजीकरण गरिनेछ।
कार्यक्रमको घोषणा गर्दै बैंकका सीईओ सुरेन्द्रराज रेग्मीले लघु, साना तथा मझौला व्यवसायीहरूले भोग्नुपर्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न बैंकले यो प्लेटफर्म तयार गरेको बताए। ‘सम्बन्धित क्षेत्रका विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकहरू मार्फत सहभागीहरूलाई व्यावहारिक ज्ञान र समस्या समाधानका उपायहरू प्रदान गरिनेछ,’ उनले भने।
यस कार्यक्रममार्फत सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन प्रक्रिया, वित्तीय व्यवस्थापन र बैंकसँगको पहुँच जस्ता महत्त्वपूर्ण विषयमा गहन व्यावहारिक ज्ञान प्राप्त गर्ने बैंकले विश्वास लिएको छ।


