सरकारले एकै पटक ६ जना सचिवको सरुवा गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न मन्त्रालय तथा कायकासचिवहरुको जिम्मेवारी हेरफेर गरिएको हो।
हिजो मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सरुवाको निर्णय गरेको हो। अख्तियार बाहेक राष्ट्रिय सतर्कता केन्द्र, विज्ञान, महिला, उद्योग मन्त्रालयका सचिवहरुलाई परिवर्तन गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई महावीर पुनको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा पुर्याइएको छ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा गरिएको मन्त्रिपरिषदले जनाएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्तमा रहने गरी सरुवा गरिएको छ।
महिला मन्त्रालयमा यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रहेका कृष्णबहादुर राउतलाई सरुवा गरिएको हो ।
सरुवाको पत्र प्राप्त गरिसकेका सचिवहरू पद बहाली गर्ने तयारीमा छन्।


