काठमाडौं। गरिमा विकास बैंकले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा आफ्नो डिजिटल इकोसिस्टमलाई थप सुदृढ बनाउँदै एकैसाथ तीन नयाँ प्रविधिमा आधारित सेवाहरू सार्वजनिक गरेको छ।
बैंकले आफ्ना ग्राहकहरूलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले यी सेवाहरू सञ्चालनमा ल्याएको हो।
बैंकद्वारा औपचारिक रूपमा शुभारम्भ गरिएका नयाँ सेवाहरूमा गरिमा प्रिपेड डलर कार्ड, गरिमा पिओएस टर्मिनल र गरिमा इन्टर बैंक क्युआर टेलर रहेका छन्।
गरिमा प्रिपेड डलर कार्ड सेवामार्फत ग्राहकले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्महरूमा अमेरिकी डलरमा सुरक्षित रूपमा अनलाइन भुक्तानी गर्न सक्नेछन्।
त्यस्तै, गरिमा पिओएस टर्मिनल व्यवसायी तथा व्यापारीलाई लक्षित गरी ल्याइएको हो। यस सेवामार्फत डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरूबाट सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी प्राप्त गर्न सकिनेछ। यसले नगदरहित (क्यासलेस) कारोबारलाई प्रवर्द्धन गर्दै व्यापारिक कारोबारलाई अझ व्यवस्थित बनाउने बैंकको अपेक्षा छ।
यसैगरी, गरिमा इन्टर बैंक क्युआर टेलर अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत क्युआर स्क्यान गरी गरिमा विकास बैंकको जुनसुकै शाखाबाट सहजै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन्।
डिजिटल रूपान्तरणलाई उच्च प्राथमिकतामा राख्दै आएको गरिमा विकास बैंकले आगामी दिनमा पनि यस्तै नवीनतम प्रविधिमा आधारित सेवाहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। हाल बैंकले देशभर आफ्ना १२६ शाखा कार्यालय, ५१ वटा एटिएम र अत्याधुनिक डिजिटल इकोसिस्टममार्फत करिब ९ लाख ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।


