काठमाडौं। सरकारले दुर्गम तथा पर्यटकीय क्षेत्रलाई डिजिटल सञ्जालमा जोड्ने अभियानलाई तीव्र बनाएको छ।
त्यसअन्तर्गत सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्।
पर्यटक र स्थानीयले लामो समयदेखि भोग्दै आएको सञ्चार समस्यालाई गम्भीर रूपमा लिँदै मन्त्री तिमिल्सिनाले आवश्यक उपकरण हेलिकप्टरमार्फत ढुवानी गरेर भए पनि साउनभित्र सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन्। सडकमार्फत सामग्री पुर्याउन कठिन भएकाले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी टावर निर्माण कार्य छिटो सम्पन्न गर्ने तयारी गरिएको छ। नेपाल टेलिकमका अनुसार आवश्यक सामग्री धनगढीसम्म पुगिसकेको छ।
सरकारले बडीमालिकालाई मात्रै होइन, उच्च हिमाली र दुर्गम क्षेत्रलाई डिजिटल पहुँचमा जोड्ने अभियानलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाएको छ। टेलिकमले ४ हजार २ सय मिटर उचाइमा रहेको बडीमालिका मन्दिर क्षेत्रमा पहिलोपटक ४जी सेवा विस्तार गर्ने लक्ष्य राखेको छ भने सगरमाथा आधार शिविरसम्म ४जी सेवा पुर्याउने सम्भाव्यता अध्ययन पनि अघि बढाएको जनाएको छ।
यसअघि डोल्पाको त्रिपुरासुन्दरी-ल्हान र दुनै क्षेत्र (करिब ३९०० मिटर) तथा ताप्लेजुङको ओलाङचुङगोला (३४०० मिटर)मा सफलतापूर्वक ४जी सेवा सञ्चालनमा आइसकेको छ। यी परियोजनालाई सरकारले दुर्गम क्षेत्रमा डिजिटल पहुँच विस्तारको नमुनाका रूपमा लिएको छ।
बडीमालिका नगरपालिकाका मेयर अमरबहादुर खड्कासँग पनि आवश्यक पूर्वाधार र स्थानीय आवश्यकता बारे परामर्श गरिएको छ।
सरकारका अनुसार देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न करिब १,६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित पूर्वाधार निर्माण प्रक्रिया अघि बढिसकेको छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि नेपाल टेलिकमले आगामी आर्थिक वर्षमा मात्रै ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने योजना बनाएको छ।


