काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई परम्परागत जोखिम व्यवस्थापन गर्ने नियामकको भूमिकाबाट बाहिर निस्किएर उत्पादन, लगानी र आर्थिक रूपान्तरणलाई अघि बढाउने सक्रिय संस्थाका रूपमा पुनर्परिभाषित हुन आग्रह गरेका छन्।
बुधबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले अब नियमनको उद्देश्य नियन्त्रणमा मात्र सीमित नरही उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउने हुनुपर्ने बताएका हुन्।
उनले पछिल्ला दिनमा उद्योगीव्यवसायी र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँगको छलफलबाट निजी क्षेत्रले सहुलियतभन्दा बढी स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको निष्कर्ष आएको बताए।
वाग्लेले विगत एक दशकका आर्थिक नीतिको समीक्षा गर्दै नीतिगत निर्णय भए पनि कार्यान्वयन कमजोर हुँदा लगानीको आत्मविश्वास घटेको, बैंकमा तरलता थुप्रिए पनि उद्योगमा कर्जा नपुगेको, पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर बनेको तथा उत्पादन र उत्पादकत्वले अपेक्षित गति लिन नसकेको उल्लेख गरे।
उनले चालु आर्थिक वर्षको बजेटलाई सामान्य वार्षिक बजेट नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको रोडम्याप भएको दाबी गर्दै अब त्यसको सफल कार्यान्वयनमा राष्ट्र बैंकको भूमिका निर्णायक हुने बताए।
अर्थमन्त्रीले उत्पादनमुखी क्षेत्रमा कर्जा विस्तार, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, रोजगारी र उत्पादनमा रूपान्तरण, मौद्रिक र वित्तीय नीतिबीच प्रभावकारी समन्वय, पूँजी बजार तथा रियल इस्टेटसँग वास्तविक अर्थतन्त्रको सम्बन्ध सुदृढीकरण, साथै डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणलाई सहज बनाउन राष्ट्र बैंकले ठोस नीतिगत पहल गर्नुपर्ने धारणा राखे।
उनले राष्ट्र बैंकका अधिकारीहरूलाई 'यो सम्भव छैन'भन्ने मानसिकताभन्दा 'यसलाई सम्भव बनाउन के गर्नुपर्छ?' भन्ने दृष्टिकोण अपनाउन आग्रह गर्दै अहिले नेपाललाई सबैभन्दा बढी 'नीतिगत आत्मविश्वास' आवश्यक रहेको बताए।
सरकारले कानुनी संशोधन, संस्थागत सुधार र कार्यान्वयनलाई तीव्र बनाइरहेको उल्लेख गर्दै उनले मौद्रिक नीतिमा पनि त्यही स्तरको स्पष्टता र गतिशीलता अपेक्षा गरेको बताए। छलफलमा उठेका विषयलाई कार्ययोजनामा रूपान्तरण गरिने, आवश्यक परे संयुक्त कार्यदल गठन गरी नीतिगत समन्वयलाई संस्थागत गरिने प्रतिबद्धता पनि उनले जनाए।
अर्थमन्त्री वाग्लेले अन्त्यमा सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र एउटै दिशामा अघि बढे नेपालको आर्थिक रूपान्तरण अब कल्पना नभई कार्यान्वयनको चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरे।


