तिला-२ जलविद्युतमा जुट्यो ५२ अर्ब ऋण, एभरेष्ट र सानिमा बैंकसँगै ११ बैंकको लगानी

तिला-२ जलविद्युतमा जुट्यो ५२ अर्ब ऋण, एभरेष्ट र सानिमा बैंकसँगै ११ बैंकको लगानी

ट्याक्स खबर
मंगलवार, भाद्र २ २०८३
ट्याक्स खबर
मंगलवार, भाद्र २ २०८३
  • images

    काठमाडौं। कालीकोटमा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला-२ जलविद्युत् आयोजनाले निर्माणका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गरेको छ। ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धित आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको हो।

    आयोजनाका लागि एभरेष्ट बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाबीच सहवित्तीयकरण सम्झौता भएको छ। कन्सोर्टियममा सानिमा बैंकसहित ९ वटा बैंक तथा वित्तीय संस्था सहभागी छन्।

    सहवित्तीयकरणमा एभरेष्ट र सानिमा बैंकसँगै प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन्।

    ७० अर्बको आयोजनामा ५२ अर्ब बैंक ऋण

    तिला-२ को कुल अनुमानित लागत ७० अर्ब ७ करोड रुपैयाँ रहेको छ। त्यसमध्ये ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋणमार्फत जुटाइनेछ। बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड रुपैयाँ स्वपुँजीबाट व्यवस्थापन गरिनेछ।

    प्रवर्द्धक कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि आयोजनाको २० प्रतिशत सेयर छुट्याएको छ। वित्तीय व्यवस्थापन पूरा भएसँगै आयोजना निर्माणका लागि आवश्यक लगानी जुटाउने प्रमुख प्रक्रिया सम्पन्न भएको छ।

    सुख्खायाममा ६ घण्टा पिकिङ

    आयोजनाको बाँध कालीकोटको तिलागुफा नगरपालिका र विद्युत्गृह खाँडाचक्र नगरपालिकामा निर्माण हुनेछ। आंशिक जलाशय प्रकृतिको यस आयोजनाले सुख्खायाममा दैनिक ६ घण्टासम्म पिकिङ क्षमतामा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

    आयोजनाबाट वार्षिक २ हजार ३१८.७९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। यसमध्ये सुख्खायामको पिक समयमा ४५१.५० गिगावाट घण्टा, अफ–पिक समयमा २०५.४५ गिगावाट घण्टा र वर्षायाममा १ हजार ६६२.२९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण छ। उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

    ४ वर्षमा आयोजना पूरा गर्ने लक्ष्य

    तिला–२ ले २०७५ भदौ ७ गते विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको अनुमतिपत्र प्राप्त गरिसकेको छ। त्यस्तै, २०८१ कात्तिक ७ गते नेपाल विद्युत् प्राधिकरणसँग २६९.७४ मेगावाट क्षमताका लागि विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) सम्पन्न गरिसकेको छ।

    आयोजना निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाका प्रमुख प्रवर्द्धकमा स्ट्रिम इन्भेस्टमेन्ट, ऊर्जा इम्प्याक्ट फण्ड, रबिन्स युएसएलगायत संस्थागत तथा व्यक्तिगत लगानीकर्ता रहेका छन्।

    वित्तीय व्यवस्थापन पूरा भएसँगै कर्णाली प्रदेशमा निर्माण हुने ठूला जलविद्युत् आयोजनामध्ये एक तिला–२ को निर्माण चरणमा प्रवेश गर्ने बाटो खुलेको छ। आयोजनाले उत्पादन सुरु गरेपछि राष्ट्रिय प्रसारण प्रणालीमा थप विद्युत् उपलब्ध हुनुका साथै कालीकोटको स्थानीय अर्थतन्त्रमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend