काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि चौधरी फाउन्डेसनले राहत सामग्री परिचालन गरेको छ।
बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायको तत्कालीन आवश्यकता पूरा गर्न फाउन्डेसनले खाद्यान्न, सुरक्षित खानेपानी, कपडा, कम्बललगायत अत्यावश्यक सामग्री उपलब्ध गराएको जनाएको छ।
फाउन्डेसनका अनुसार राहत सामग्री प्रभावित समुदायमा आवश्यकताका आधारमा वितरण गर्ने गरी परिचालन गरिएको छ। राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकार र नेपाली सेनासँग समन्वय गरिएको फाउन्डेसनले जनाएको छ।
बाढीका कारण प्रभावित बनेका परिवारलाई तत्काल राहतसँगै आगामी दिनमा पुनःस्थापना र जीविकोपार्जनमा सहयोग आवश्यक पर्ने भन्दै फाउन्डेसनले आपत्कालीन राहतलाई पहिलो चरणका रूपमा लिएको जनाएको छ।
प्रभावित समुदाय राहतबाट पुनःस्थापनातर्फ अघि बढ्ने क्रममा जीवन र जीविकोपार्जन पुनर्निर्माणका प्रयासमा समेत साथ दिने फाउन्डेसनको प्रतिबद्धता छ।
फाउन्डेसनले कठिन परिस्थितिमा रसुवाका प्रभावित नागरिकसँगै रहेको जनाउँदै राष्ट्रिय राहत अभियानमा आफ्नो तर्फबाट निरन्तर सहयोग गर्ने जनाएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा सरकारी निकाय, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाले उद्धार र राहत कार्यलाई निरन्तरता दिइरहेका छन्।
तत्कालीन राहतसँगै प्रभावित नागरिकको दीर्घकालीन पुनःस्थापना र स्थानीय अर्थतन्त्र पुनरुत्थानलाई समेत प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।


