काठमाडौं । पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंक लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले अर्याललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त भएको थियो ।
श्रेष्ठको राजीनामा स्वीकृत भएको चार दिनपछि नै सञ्चालक समितिले अर्याललाई नयाँ अध्यक्ष नियुक्त गरेको हो ।
भोली सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्याललाई अध्यक्ष पदको सपथ ग्रहण गराउने औपचारिक कार्यक्रम हुनेछ ।
भोलिबाट नै अर्यालले औपचारिक रूपमा बैंकको कार्यभार सम्हाल्ने छन् ।
अर्याल यसअघि नै हिमालयन बैंकको सञ्चालकका रूपमा कार्यरत थिए । नेपाल सरकारको मुख्यसचिवको जिम्मेवारीसमेत सम्हालिसकेका अर्यालले सरकारी सेवाका क्रममा अर्थ, प्रशासन तथा सार्वजनिक व्यवस्थापनका क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् ।
निजामती सेवामा रहँदा अर्यालको नाम विभिन्न संस्थागत सुधारका पहलहरूसँग जोडिएको पाइन्छ । उनीनिकट स्रोतका अनुसार, अर्थ मन्त्रालयमा कार्यरत हुँदा सरकारी बजेट व्यवस्थापनलाई प्रविधिमैत्री तथा पारदर्शी बनाउने उद्देश्यले सुरु गरिएको लाइन मिनिष्ट्रि बजेट इन्फर्मेसन सिष्टम (एलएमबीआइएस) को विकासमा उनको सक्रिय भूमिका रहेको थियो ।
यस प्रणालीले मन्त्रालय तथा निकायहरूको बजेट कार्यक्रम, स्वीकृति र खर्च प्रक्रियालाई एकीकृत विद्युतीय प्रणालीमार्फत व्यवस्थापन गर्न सघाएको छ, जसले बजेट कार्यान्वयनमा पारदर्शिता र समयबद्धता बढाउन योगदान पुर्याएको बताइन्छ ।
त्यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रहँदा तयार गरिएको स्रोत बाँडफाँट सम्बन्धी फर्मुला हाल पनि कायम रहेको छ ।
प्रशासनिक तथा सार्वजनिक व्यवस्थापन क्षेत्रमा लामो अनुभव भएका अर्याललाई बैंकको अध्यक्षको जिम्मेवारी दिइनुलाई संस्थागत सुशासन तथा रणनीतिक नेतृत्वका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।
उनको नेतृत्वमा बैंकको समग्र अवस्थामा सुधार आउने अपेक्षा सम्बद्ध पक्षहरूले गरेका छन् ।
नयाँ अध्यक्षका रूपमा अर्यालले बैंकको रणनीतिक नेतृत्व, संस्थागत सुशासन तथा समग्र बैंकिङ गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी सम्हाल्नेछन् ।
हिमालयन बैंक नेपालको पुरानो वाणिज्य बैंकमध्ये एक हो । बैंकले व्यक्तिगत तथा संस्थागत बैंकिङ, कर्जा, निक्षेपलगायत विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


