काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
नाइमाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नाइमाले विपद् सुरु भएदेखि नै आफ्ना सदस्य कम्पनीहरू आर्थिक सहयोगका साथै यातायात तथा लजिस्टिक सहयोगमार्फत उद्धार तथा राहत कार्यमा सक्रिय रहेको जनाएको छ।
नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले विपद्को समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व भएको बताइन्।
उनले सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्रै राहत तथा पुनर्स्थापना प्रभावकारी बनाउन सकिने बताउँदै सहयोगका लागि तत्पर सदस्य कम्पनीहरूलाई धन्यवाद दिइन्।
नाइमाले आफ्नो स्थापनाकालदेखि नै विपद् तथा आपतकालीन अवस्थामा सरकार र प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ।
संस्थाले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।


