काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा सडक भासिएको सात दिनपछि वैकल्पिक डाइभर्सन ट्र्याक खोलिएको छ। तर, परेवाभिर खण्डमा सडक मर्मतको काम जारी रहेकाले आइतबार पनि अत्यावश्यक बाहेकका सबै सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भाद्र १० गते भोटेकोशीमा आएको बाढीले गजुरी गाउँपालिका–२ परेवाभिरस्थित पृथ्वी राजमार्गमा क्षति पुर्याएपछि सडक एकतर्फी मात्र सञ्चालनमा थियो। उक्त क्षतिग्रस्त खण्डको मर्मतका लागि शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सवारी आवागमन बन्द गरिए पनि काम सम्पन्न हुन नसकेपछि आइतबार पनि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मका लागि आवागमन रोकिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले जानकारी दिइन्। यस अवधिमा एम्बुलेन्स र शववाहनजस्ता अत्यावश्यक सवारीसाधन मात्र चल्न पाउनेछन्।
अर्कोतर्फ, बाढीका कारण ठप्प बनेको कृष्णभीर खण्डमा २५२ मिटर लामो नयाँ ट्र्याक खोलेर राजमार्ग जोडिएको सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए। सडक विभाग र नेपाल जियो टेक्निकल सोसाइटीको सहकार्यमा भित्तो काट्दै डाइभर्सन बनाइएको हो।
नयाँ ट्र्याक खुले पनि ग्रेड मिलाउने, भित्ता व्यवस्थापन गर्ने र ग्राभेल गर्ने काम बाँकी रहेकाले सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउन अझै एक साता लाग्ने विभागले जनाएको छ। सडक अवरुद्ध रहेकाले हाल सवारीसाधनहरूलाई कान्ति राजमार्ग र त्रिभुवन राजपथतर्फ डाइभर्ट गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले यात्राका क्रममा पर्न जाने असुविधाप्रति क्षमा माग्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।


