काठमाडौं। रसुवामा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले ५० लाख रुपैयाँ सहयोग गरेको छ।
नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार उक्त रकम अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, सिमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमाको डिजिटल एजेन्सी डिजिपालका तर्फबाट उत्सव कार्की सहभागी थिए।
अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मुख्य उद्देश्य विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउनु रहेको बताए। नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादक र नाइमाका सदस्य कम्पनीहरूको तर्फबाट सहयोग गरिएको उल्लेख गर्दै उनले संकट तथा विपद्का समयमा सरकार र प्रभावित समुदायसँग नाइमा सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
'यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,' उनले भने।


