भन्सार अधिकृत शर्माप्रति अर्थमन्त्रीद्वारा श्रद्धाञ्जली, परिवारको पुनर्स्थापनामा कसर बाँकी नराख्ने प्रतिबद्धता

भन्सार अधिकृत शर्माप्रति अर्थमन्त्रीद्वारा श्रद्धाञ्जली, परिवारको पुनर्स्थापनामा कसर बाँकी नराख्ने प्रतिबद्धता

मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • images

    काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीमा परी बेपत्ता भएका १४ जना राष्ट्रसेवक कर्मचारीको खोजीलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाउने बताएका छन्।

    भन्सार विभागमा आयोजित श्रद्धाञ्जली तथा स्मरण सभामा सहभागी हुँदै मन्त्री वाग्लेले बाढीमा परी निधन भएका भन्सार अधिकृत नवकुल शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता कर्मचारीहरूको अवस्थाबारे आफूहरू चिन्तित रहेको बताए।

    'बेपत्ता रहेका राष्ट्रसेवक कर्मचारीहरू सकुशल फर्किएको सुन्न आतुर छौँ,' उनले भने।

    भदौ १० गतेको भोटेकोसी बाढीमा रसुवा भन्सार कार्यालयमा खटिएका १५ जना राष्ट्रसेवक कर्मचारी बेपत्ता भएका थिए। तीमध्ये शर्माको शव गोरखामा फेला परेको थियो। उनको पशुपतिमा अन्तिम दाहसंस्कार गरिएको छ। बाँकी १४ कर्मचारीको अवस्था अझै अज्ञात छ।

    मन्त्री वाग्लेले कर्तव्यपालनका क्रममा ज्यान गुमाएका शर्माको परिवार तथा बेपत्ता कर्मचारीका परिवारले भोगिरहेको पीडाप्रति दुःख व्यक्त गर्दै सरकार र अर्थ मन्त्रालय उनीहरूको साथमा रहेको बताए। प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापनाका लागि सरकारले गर्नुपर्ने कुनै पनि काममा कसर बाँकी नराख्ने उनको प्रतिबद्धता थियो।

    बेपत्ता कर्मचारीहरूको अवस्था पत्ता लगाउन भन्सार विभागले विशेष टोली नै परिचालन गरेको छ। विभागका अनुसार भीम लामा, विष्णुप्रसाद भुसाल, दिनेशकुमार घिमिरे, अनिता पुरी, हरिबहादुर खड्का, राजेन्द्रकुमार सोनकर, विमल त्रिपाठी, गोविन्दबहादुर अधिकारी, नरेशदत्त जोशी, प्रेम सेढाइ, राजु ओली, विकास तामाङ, रामबहादुर नेपाली र सुनिल गुरुङ अझै सम्पर्कविहीन छन्।

    श्रद्धाञ्जली सभामा अर्थ सचिव डा. घनश्याम उपाध्यायले स्वर्गीय शर्माको अभाव सधैँ खड्किरहने बताए।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend