स्याफ्रुबेसी-रसुवागढी सडक पुनर्निर्माणका लागि चीनको सहयोग पर्खँदै नेपाल

स्याफ्रुबेसी-रसुवागढी सडक पुनर्निर्माणका लागि चीनको सहयोग पर्खँदै नेपाल

ट्याक्स खबर
मंगलवार, भाद्र ३० २०८३
ट्याक्स खबर
मंगलवार, भाद्र ३० २०८३
  • images

    काठमाडौं। भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले सडक र पुल बगाएपछि नुवाकोटको त्रिशूलीदेखि चीनसँगको उत्तरी नाका रसुवागढीसम्मको सडक सम्पर्क टुटेको छ।

    नाका जोड्ने मुख्य सडक पुनर्निर्माणका लागि नेपालले चीनसँग औपचारिक रूपमा सहयोग मागेको छ। तर, चीनबाट त्यसबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया आएको छैन।

    बाढीबाट सबैभन्दा बढी क्षति रसुवाको स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको करिब १८ किलोमिटर सडकखण्डमा भएको छ। उक्त सडकखण्ड पूर्णरूपमा क्षतिग्रस्त भएपछि सरकारले चीनसँग पुनर्स्थापनाका लागि सहयोग मागेको हो। यसअघि पनि यो सडक निर्माणमा चीन संलग्न थियो।

    रसुवागढी नाका जोड्ने सडकमा बाढीबाट भएको क्षति भने यो पहिलोपटक होइन। २०८२ असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुलसहित स्याफ्रुबेसीसम्मको सडकमा क्षति पुर्‍याएको थियो। त्यसपछि रसुवागढी नाका करिब ६ महिना बन्द भएको थियो। चीनले २०८२ पुस १७ गते बेलिब्रिज सञ्चालनमा ल्याएपछि नाका हुँदै हुने व्यापार पुनः सञ्चालनमा आएको थियो।

    अहिलेको बाढीपछि भने चीनतर्फको सहयोगको प्रतीक्षा गरिरहँदा नेपाल सरकारले नुवाकोट हुँदै रसुवा पुग्ने वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याउने काम अघि बढाएको छ।

    पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार नुवाकोटको त्रिशूलीबाट रसुवाको स्याफ्रुबेसीसम्मको सडकलाई सञ्चालनयोग्य बनाउन तत्कालीन रूपमा अवरुद्ध सडक र पुल पुनर्स्थापनाको काम भइरहेको छ।

    हाल त्रिशूलीबाट वेत्रावती पुग्नुअघि नै सडक बाढीले बगाएको छ। त्रिशूलीबाट वेत्रावती करिब १० किलोमिटरको दूरीमा पर्छ। वेत्रावतीमा फलाकु खोलामाथि रहेको पुलसमेत बाढीले बगाएपछि नुवाकोटतर्फबाट रसुवा जाने सडक पूर्णरूपमा अवरुद्ध भएको हो।

    ‘वेत्रावतीमा पहिले पुल भएको ठाउँ पत्ता लागेको छ। त्यहाँ ७५ मिटरको बेलिब्रिज दुई हप्तामा तयार हुन्छ,’ सचिव सिग्देलले भने, ‘बट्टारबाट वेत्रावती पुग्ने सडक बगेको छ। त्यहाँ सडक पुनर्स्थापना गर्न अलि कठिन छ। त्यहाँको सडक समस्या नै नभएको ठाउँ थियो। अहिले नयाँ समस्या सिर्जना भयो। केही दिनमा त्यहाँ पनि नयाँ ट्रयाक बन्छ।’

    बाढीले बगाएको सडकमा नयाँ ट्रयाक खोल्ने र वेत्रावतीमा बेलिब्रिज निर्माण गर्ने काम पूरा भएपछि नुवाकोट हुँदै रसुवाको धुन्चेसम्म पुग्ने वैकल्पिक मार्ग तयार हुनेछ।

    वेत्रावती पार गरेपछि धुन्चेसम्म करिब ४० किलोमिटर र धुन्चेबाट स्याफ्रुबेसीसम्म थप १२ किलोमिटर सडक छ। वेत्रावतीदेखि धुन्चेसम्मको करिब ५२ किलोमिटर सडक पक्की रहेको मन्त्रालयले जनाएको छ।

    तर, स्याफ्रुबेसीसम्म पुग्न धुन्चेपछि अर्को अवरोध छ। धुन्चेबाट १२ घुम्ती पार गरेपछि भोटेकोसी नदीमा रहेको पुल बाढीका कारण क्षतिग्रस्त भएकाले त्यहाँ नयाँ पुल आवश्यक परेको छ।

    त्यसका लागि पूर्वाधार विकास मन्त्रालयले ७५ देखि १०० मिटरसम्म लामो बेलिब्रिज निर्माण गर्ने योजना बनाएको छ।

    यसरी त्रिशूली–वेत्रावती खण्डमा नयाँ ट्रयाक, वेत्रावतीमा ७५ मिटरको बेलिब्रिज र धुन्चे-स्याफ्रुबेसी खण्डमा भोटेकोसीमाथि अर्को बेलिब्रिज निर्माण गर्न सके नुवाकोट हुँदै स्याफ्रुबेसीसम्म सडक सञ्चालनमा ल्याउन सकिने मन्त्रालयको आकलन छ।

    यसले चीनतर्फको मुख्य सडक पूर्णरूपमा पुनर्स्थापित नभएसम्म रसुवागढी नाका जोड्ने वैकल्पिक सडकमार्गका रूपमा काम गर्नेछ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend