काठमाडौं। नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। साविककै आकार र रङमा ल्याइएको नयाँ नोटमा सुरक्षा विशेषता थप गरिएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटमा संकेत नम्बर ट २४, ०००००१ देखि ण ७०, ९९९९९९ सम्मका नोट जारी गरिनेछन्। नोटमा २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याइएको उल्लेख छ।
नयाँ नोटको अगाडिको भागको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग भएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ।
नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापको मुनि ‘५०’ अंकित पानी छापसमेत रहेको राष्ट्र बैंकले जनाएको छ। नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
नोटमा १.२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षा धागोसमेत राखिएको छ। प्रकाशतर्फ पारेर हेर्दा उक्त धागो पूर्ण रूपमा देखिने र त्यसमा ‘NRB’ लेखिएको हुन्छ।
पछाडिको भागमा हिउँ चितुवा
नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र राखिएको छ। चित्रको माथि ‘NEPAL RASTRA BANK’ र तल्लो भागमा ‘RUPEES FIFTY’ लेखिएको छ। त्यस्तै, सिरिज नम्बरमा ‘2025 A.D.’ उल्लेख गरिएको छ।
यसअघि राष्ट्र बैंकले २०७७ असार २२ गतेदेखि ५० रुपैयाँ दरको सिरिज २०१९ को बैंकनोट चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेको थियो।
त्यसअघिको नोटमा उल्लेखित संकेत नम्बरमध्ये ज ८९, ०००००१ देखि ट २३, ९००००० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।
यसरी नयाँ नोट जारी भएसँगै ५० रुपैयाँको नोटमा नयाँ सिरिज र सुरक्षा विशेषता थपिएका छन्, जबकि नोटको आधारभूत आकार र रङ भने साविककै कायम राखिएको छ।


