काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पूर्वन्यायाधीश तथा मुद्दामा बिचौलियाको भूमिका निर्वाह गरेको आरोप लागेका व्यक्तिहरूको घरमा छापा मारेको छ। विभागले बुधबार पूर्वप्रधानन्यायाधीश जबरा, उच्च अदालतका पूर्वन्यायाधीश नवराज थपलिया तथा नारायण दाहाल, दीपक तिमिल्सिना र नवीन बस्नेतको घरमा छापा मारेको हो। मुद्दा मिलाउने नाममा विभिन्न व्यक्तिबाट रकम उठाएको विषयमा अनुसन्धान अघि बढेको विभाग स्रोतले जनाएको छ।
विभागको अनुसन्धानमा जबरालाई नियन्त्रणमा लिएपछि उनको मोबाइल तथा अन्य डिजिटल विवरणको अध्ययनबाट थप व्यक्तिहरूसँगको सम्पर्क खुलेको बताइएको छ। त्यसक्रममा इनम सापकोटामार्फत पूर्वमन्त्री, ठूला उद्योगी तथा सर्वोच्च अदालतका पूर्वन्यायाधीशसम्मको कनेक्सन देखिएको स्रोतको दाबी छ।
स्रोतका अनुसार अदालतका मुद्दा मिलाउने विषयमा कुराकानी भएको र त्यससँग सम्बन्धित रकम खातामा आएको देखिएपछि सम्बन्धित व्यक्तिहरूमाथि निगरानी बढाइएको थियो। सापकोटाले अनुसन्धानका क्रममा कुन मुद्दाका लागि कसबाट रकम लिएको भन्नेबारे बयान दिएको र सोही बयानका आधारमा थप व्यक्तिको घरमा छापा मारिएको विभाग स्रोतको भनाइ छ।
बैंक कारोबार र सम्पत्तिको स्रोत पनि अनुसन्धानमा
सम्पत्ति शुद्धीकरण अनुसन्धानको महत्वपूर्ण पक्ष भनेको आम्दानीको स्रोत, बैंकिङ कारोबार र त्यसबाट निर्माण भएको सम्पत्तिबीचको सम्बन्ध पहिचान गर्नु हो। यस प्रकरणमा पनि रकम कसरी उठाइयो, रकम कुन व्यक्ति वा खातामा पुग्यो, बैंकिङ प्रणालीमार्फत कस्तो कारोबार भयो तथा त्यसबाट कुनै सम्पत्ति जोडिएको छ कि छैन भन्ने विषय अनुसन्धानको दायरामा आउन सक्ने देखिन्छ।
मुद्दा मिलाउने नाममा रकम लिएको पुष्टि भएमा त्यस्तो रकमको स्रोत र प्रयोगसमेत अनुसन्धानको विषय बन्न सक्छ। विशेषगरी बैंक खातामा देखिएको कारोबार र सम्बन्धित व्यक्तिको घोषित आम्दानी तथा सम्पत्तिबीच अस्वाभाविक अन्तर देखिएमा त्यसको स्रोतबारे थप अनुसन्धान हुन सक्छ।
पूर्वन्यायाधीश थपलियाको कनेक्सन पनि खोजिँदै
विभागको अनुसन्धानमा पूर्वन्यायाधीश नवराज थपलियाको पनि जबरासँगको सम्बन्धबारे अध्ययन भइरहेको बताइएको छ। थपलियाको कार्यक्षमता र आचरणमाथि प्रश्न उठाउँदै यसअघि नै कारबाही भएको थियो। नेपाल बार एशोसिएसनले समेत मुद्दाको फैसला गराउने विषयमा तत्कालीन प्रधानन्यायाधीश जबरा र न्यायाधीश थपलियाबीच कुराकानी भएको दाबी गरेको थियो।
यद्यपि, विभागको छापा र अनुसन्धानमा नाम जोडिनु मात्रैबाट सम्बन्धित व्यक्तिहरू दोषी प्रमाणित भएको मानिँदैन। अनुसन्धानबाट प्राप्त प्रमाण, वित्तीय कारोबार र कानुनी प्रक्रियापछि मात्रै आरोपको वास्तविक अवस्था स्पष्ट हुनेछ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पछिल्लो कारबाहीले न्यायिक क्षेत्रमा हुने भनिएका आर्थिक कारोबार तथा बिचौलियामार्फत हुने रकमको चलखेलमाथि वित्तीय अनुसन्धान कति महत्वपूर्ण हुन्छ भन्ने विषयलाई समेत पुनः चर्चामा ल्याएको छ।


