दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, बिहानैदेखि बसपार्कमा भीड

दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, बिहानैदेखि बसपार्कमा भीड

ट्याक्स खबर
शुक्रवार, आश्विन २३ २०८३
ट्याक्स खबर
शुक्रवार, आश्विन २३ २०८३
  • images

    काठमाडौं। दसैंमा घर फर्किने यात्रुलाई लक्षित गर्दै आज शुक्रबारदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। यात्रुको चाप व्यवस्थापन गर्न यातायात व्यवस्था विभागले शुक्रबारदेखि लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाएको हो।

    विभागले यातायात व्यवसायी, मजदुर संघसंगठन, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरेपछि टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। बुकिङ सुरु भएसँगै बिहानैदेखि बसपार्कमा यात्रुको भीड लागेको छ।

    दसैंको समयमा यात्रुको चापअनुसार लामो तथा मध्यम दूरीका सवारीसाधन थप सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रुट परमिटसमेत खुला गरिएको छ। यस व्यवस्थाले चाडपर्वका बेला यात्रुको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ।

    चाडपर्वका बेला अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुन नदिन ढुवानी व्यवस्थालाई पनि प्राथमिकतामा राखिएको विभागले जनाएको छ। फलफूल, तरकारी, औषधि, खसी–बोका तथा अत्यावश्यक खाद्यान्न र सामग्रीको ढुवानीलाई प्राथमिकता दिइनेछ। अन्य सामग्रीको ढुवानी भने आवश्यकताअनुसार पछि सारिनेछ।

    यात्रुलाई टिकट खरिद तथा भाडासम्बन्धी समस्या हुन नदिन विभिन्न स्थानमा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याइएको छ। हाल १५ स्थानमा सहायता कक्ष सञ्चालनमा रहेको विभागले जनाएको छ।

    नयाँ बसपार्क, कोटेश्वर र बल्खुलगायत प्रमुख स्थानमा यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, मजदुर संगठन र ट्राफिक प्रहरी सम्मिलित समिति गठन गरिएको छ। समितिले टिकट बिक्री, भाडादर तथा यात्रुका गुनासो व्यवस्थापनमा सहजीकरण गर्नेछ।

    विभागले तोकिएको भाडादरभन्दा बढी रकम नलिन र टिकटमा हुने कालोबजारी नियन्त्रण गर्न निर्देशन दिएको छ। तोकिएभन्दा बढी भाडा लिएको, टिकटमा कालोबजारी भएको वा अन्य समस्या देखिए यात्रु सहायता कक्ष वा ट्राफिक प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

    दसैंमा ठूलो संख्यामा यात्रु उपत्यकाबाट बाहिरिने भएकाले अग्रिम टिकट बुकिङ, थप सवारीसाधन सञ्चालन र यात्रु सहायता कक्षमार्फत यातायात व्यवस्थापन सहज बनाउने सरकारको तयारी छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend