नाडा अटो सो भदौ ३ देखि

नाडा अटो सो भदौ ३ देखि

प्रदर्शनीमा १२५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै, आकर्षणमा उड्ने सवारी साधन

बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • images


    काठमाडौं । नेपालको सबैभन्दा चर्चित अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो सो २०२५’ भदौ ३ देखि ८ सम्म भृकुटीमण्डपमा हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा आयोजना हुने अटो सो बारे जानकारी गराएको हो ।
    अटो सो को उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नेछन् । ‘गो फर मोर’ भन्ने नाराका साथ सञ्चालन हुने अटो सो मा नवप्रविधि, दिगोपन, स्मार्ट मोबिलिटी र समग्र अटोमोटिभ पारिस्थितिकीय प्रणालीलाई समेट्ने तयारी गरिएको छ ।
    प्रदर्शनीमा चारपांग्रे, दुईपांग्रे तथा हल्का व्यावसायिक सवारीसाधन, ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण, वित्तीय सेवा प्रदायकलगायतका १२५ भन्दा बढी प्रदर्शक सहभागी हुनेछन् ।
    प्रदर्शनी ३ लाख वर्गफुट क्षेत्रफलमा फैलिएको छ । त्यसमध्ये १ लाख ६२ हजार ५ सय वर्गफुटमा प्रदर्शनी क्षेत्र राखिएको छ । आयोजकले एक लाखभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा राखेको छ ।
    अटो सो मा युनिक प्रविधिहरू सार्वजनिक गरिने आयोजकले जनाएको छ । पहिलो पटक युनिट्री कम्पनीका अत्याधुनिक चारपांग्रे रोबोट तथा Deepal eVTOL UAV नामक उड्ने सवारीसाधन (सहरी हवाई मोबिलिटी) नेपाली दर्शकसामु प्रदर्शन गरिनेछ ।
    प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड र ३५ वटा अटो पार्ट्स तथा सहायक सेवाप्रदायक कम्पनीहरू सहभागी हुनेछन् ।
    सुरक्षालाई उच्च प्राथमिकता दिइएको प्रदर्शनीमा आगन्तुकहरूको सहजता र सुरक्षाका लागि क्षेत्रगत जोन विभाजन, ट्राफिक सूचना डेस्क, सञ्चारकर्मीका लागि मिडिया डेस्क, आपतकालीन स्वास्थ्य सेवा, निगरानी तथा दमकल सेवा जस्ता सुविधाहरूको व्यवस्था गरिएको छ।
    प्रदर्शनीको अर्को मुख्य आकर्षण ऐतिहासिक सवारी साधनहरूको प्रदर्शनी ‘विन्टेज मोटर सो’ रहेको छ । अटो मेलामा मोरिस माइनर, फियाट, मर्सिडिज, टोयोटा आरटी४०, बिटल, मिनी कुपर, भीएडब्लू बस, टोयोटा कोरोल्ला, माज्दा फेमिलिया र टोयोटा एमआर२ जस्ता पुराना सवारी साधनहरू प्रदर्शन गरिनेछ ।
    त्यस्तै ‘मेड इन नेपाल प्याभिलियन’ मा स्वदेशमै निर्माण भएका सवारी साधन र अटो पार्ट्स प्रदर्शित गरिनेछ भने ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ले अन्तर्राष्ट्रिय सहकार्य र लगानी प्रवर्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।
    प्रदर्शनी अवधिभर दैनिक भाग्यशाली विजेता कार्यक्रम पनि सञ्चालन हुनेछ, जसअनुसार १२ जना भाग्यशाली आगन्तुकले एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा प्राप्त गर्नेछन् ।
    नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो सो २०२५ नेपाली अटोमोबाइल क्षेत्रका सबै सरोकारवालाको लागि विशेष अवसर भएको बताए । आम सर्वसाधारणलाई उपस्थित भई नवीनतम प्रविधिको अवलोकन गर्न उनले आह्वान गरेका छन् ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend