काठमाडौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबारदेखि खसीबोका र च्याङ्ग्राको अग्रिम बुकिङ खुला गरेको छ । कम्पनीले सातवटा शर्तसहित दशैँका लागि खसीबोका र च्याङ्ग्राको अनलाइनमार्फत बुकिङ खुला गरेको हो ।
ग्राहकले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वेबसाइटमा गई आफूलाई आवश्यक पर्ने खसीबोका र च्याङ्ग्रा बुकिङ गर्न सक्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलले बताएका छन् । यसका लागि आफ्नो नाम मोबाइल नम्बर र ठेगानासहित आवश्यक पर्ने खसीबोकाको तौल, सङ्ख्या र अग्रिम मूल्य अनलाइनमा भरेर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
अनलाइन फाराम भरेर तोकिएको अग्रिम रकम बुझाएपछि मात्र बुकिङ मान्य हुनेछ । खसी, बोका तथा च्याङ्ग्रा सङ्कलनको समयमा बुकिङको कोड नम्बर अनिवार्य रूपमा देखाउनुपर्नेछ ।
अग्रिम बुकिङ गर्दा खसीका लागि ४ हजार र च्याङ्ग्राका लागि ५ हजार रुपैयाँ बुझाउनुपर्नेछ । यो अग्रिम शुल्क ईसेवा र खल्तीबाट भुक्तानी गर्नुपर्नेछ । यसरी बुझाएको रकम फिर्ता नहुने कम्पनीले जनाएको छ । बुकिङ गर्दा प्राप्त कोड लिएर खसीबोका लिन जानुपर्नेछ । खसीबोका र च्याङ्ग्राको मूल्य भने तोकिएको छैन ।
खाद्यले यो वर्ष १५ सय खसीबोका र ५ सय च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । अनलाइन बुकिङ बढ्दै गए त्यही अनुसार खसीबोका र च्याङ्ग्रा खरिद बढाइने कम्पनीले जनाएको छ ।
कम्पनीका सात शर्तमा के के छन् ?
१. अनलाइन फाराम भरेर तोकिएको अग्रिम रकम बुझाएपछि मात्र बुकिङ्ग मान्य हुनेछ। बुकिङ्गको कोड नम्बर/खसी, बोका तथा च्याङ्ग्रा संकलनको समयमा अनिवार्य रुपमा देखाउनुपर्ने छ। ग्राहकले एक पटक बस्तु बुझिसकेपछि पुनः पुरानै कोड नम्बर लिई आएमा कम्पनीले बस्तु उपलब्ध गराउन बाध्य हुने छैन।
२. कम्पनीले उपभोक्ताको माग बमोजिम बस्तु उपलब्ध गराउन नसकेको अवस्थामा बाहेक अन्य अवस्थामा अग्रिम भुक्तानीवापतको रकम फिर्ता हुने छैन।
३. उपभोक्ता कम्पनीको बिक्री केन्द्रमा आई बस्तु छनौट गरेपश्चात पर्न आउने कूल मोलमा अग्रिक भुक्तनीबापतको रकम घटाई बाँकी रकम भुक्तानी गर्नुपर्ने छ।
४. बस्तुको मूल्य कम्पनीले निर्धारण गरेको प्रति के.जी दर अनुसार हुनेछ। तौलमा सानोतिनो भिन्नता हुन सक्छ। अन्तिम रकम वास्तविक तौलअनुसार निर्धारण हुनेछ।
५. तोकिएको मितिमा यस कम्पनीको बागमती प्रादेशिक कार्यालय, थापाथली प्राङ्गणबाट मात्र खसी, बोका तथा च्याङ्ग्राहरू प्राप्त गर्न सकिनेछ। आफूले बुकिङ्ग गरेको बस्तु समयमै लिन नआईपछि दाबी गर्न आएमा अग्रिम भुक्तानी बापतको रकम फिर्ता गरिने छैन।
६. कम्पनीले उपलब्ध गराउने खसी बोका तथा च्याङ्ग्राहरू स्वास्थ्यदायी र मापदण्डअनुरूपका हुनेछन्। विशेष जात वा रंगको सुनिश्चितता गर्न सकिने छैन।
७. यी शर्तहरू नेपालका प्रचलित कानुन अनुसार लागू हुने छन्। विवाद भएमा प्रचलित कानुनबमोजिम हुनेछ।


