पेट्रोलियम पदार्थको आयातबाट मात्रै दुई महिनामा ११ अर्ब बढी राजस्व संकलन

पेट्रोलियम पदार्थको आयातबाट मात्रै दुई महिनामा ११ अर्ब बढी राजस्व संकलन

ट्याक्स खबर
मंगलवार, आश्विन ७ २०८२
ट्याक्स खबर
मंगलवार, आश्विन ७ २०८२
  • images

    काठमाडौं। वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थको आयातबाट पछिल्लो दुई महिनामा ११ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट धेरै राजस्व संकलन भएको हो ।

    गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै एक अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । सो अवधिमा आयात बढेसँगै एक अर्ब २९ करोड बढी राजस्वसमेत संकलन भएको छ ।

    प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने, ‘यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो।’ गत आवको दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले नौ अर्ब ८९ करोड राजस्व संकलन गरेको थियो । त्यस्तै चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड संकलन गरेको छ ।

    चालु आवको दुई महिनामा ११ अर्ब ९१ करोडको एक लाख ३२ हजार आठ सय २४ किलोलिटर डिजेल आयात गरिँदा पाँच अर्ब २८ करोड राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा १० अर्ब ४५ करोड मूल्यको डिजेल आयात हुँदा चार अर्ब ५१ करोड राजस्व संकलन भएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए ।

    चालु आवको दुई महिनामा छ अर्ब ८२ करोडको ८० हजार ५६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले चार अर्ब ५४ करोड राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिमा भने छ अर्ब ४० करोडको ६९ हजार ६४७ किलोलिटर पेट्रोल आयात हुँदा तीन अर्ब ९९ करोड राजस्व सङकलन भएको थियो ।

    यस्तै, चालु आवको दुई महिनामा रु पाँच अर्ब १२ करोडको चार करोड ९५ लाख ६६ हजार ६६४ किलो एलपी ग्यास आयात हुँदा ९६ करोड राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा भने पाँच अर्ब ३६ करोडको चार करोड ९७ लाख ५५ हजार १९४ किलो एलपी ग्यास आयात हुँदा एक अर्ब राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend