नेपाल उद्योग परिसंघबाट १६ सर्वोत्कृष्ट करदाता संस्था तथा व्यक्ति सम्मानित

नेपाल उद्योग परिसंघबाट १६ सर्वोत्कृष्ट करदाता संस्था तथा व्यक्ति सम्मानित

बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • images

    काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सर्वोत्कृष्ट करदातालाई सम्मान गरेको छ । नेपाल सरकारबाट राष्ट्रिय कर दिवसमा उच्च करदाताका रूपमा सम्मानित १६ संस्था तथा व्यक्तिलाई परिसंघले निजी क्षेत्रको तर्फबाट सम्मान गरेको हो ।

    सम्मानित हुनेमा वस्तु निर्याततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रा.लि., विशेष उद्योगतर्फ युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा.लि. र ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रा.लि. रहेका छन् ।

    यस्तै, कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ पोषक ब्रिडर फार्म प्रा.लि., सूचना प्रविधि सेवा निर्याततर्फ भेरिस्क नेपाल प्रा.लि., एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेशनल, बैंक, वित्तीय संस्था तथा बीमातर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ अस्पताल सम्मानित भएका छन् ।

    रेमिटेन्स तथा मनी ट्रान्सफर सेवातर्फ आईएमई लिमिटेड, निकायतर्फ नेपाल दूरसञ्चार प्राधिकरण, वार्षिक कारोबार रु. ५० करोडभन्दा बढीदेखि रु. १०० करोडसम्म समूहबाट सिडिएस एण्ड क्लियरिङ लिमिटेड, वार्षिक कारोबार रु. ५० करोडसम्म समूहबाट भि.एफ. सर्भिसेज (मोरिसस) प्रा.लि. सम्मानित भएका छन् ।

    साथै, वि.सं. २०७६ साउनदेखि २०८२ असार मसान्तसम्मको अवधिमा नियमित कर सहभागिता जनाउँदै सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र व्यक्तिगत करदातातर्फ जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाह पनि सम्मानित भएका छन् । शाह परिसंघका उपाध्यक्षसमेत हुन् ।

    मंगलबार सीएनआई सचिवालयमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मान प्रदान गरे । सो अवसरमा उनले सर्वोत्कृष्ट करदाता हुनु व्यक्तिगत वा संस्थागत उपलब्धिमात्र नभई राज्यप्रतिको महत्वपूर्ण योगदानसमेत भएको बताए । उच्च करदाताले राज्यलाई गरेको योगदानको कदरस्वरूप परिसंघले सम्मान गरेको उनले उल्लेख गरे ।

    कार्यक्रममा परिसंघका उपाध्यक्षहरू राज बहादुर शाह, हेमराज ढकाल, अमित मोर, गभर्निङ काउन्सिल सदस्य विजय शाह, राजस्व समिति सभापति गोपालकुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझालगायतको उपस्थिति थियो ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend