काठमाडौं। भन्सार विभागले भन्सार मूल्यांकन प्रक्रियालाई थप पारदर्शी र वैज्ञानिक बनाउने उद्देश्यसहित ‘कस्टम्स भ्यालुएसन डेटाबेस सिस्टम’मा अन्तर्राष्ट्रिय बजार मूल्यसमेत समावेश गरेको नयाँ प्रणाली लागू गरेको छ।
नयाँ प्रणालीमार्फत अब आयातित वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्यसमेत हेरेर भन्सार मूल्यांकन गर्न सकिने भएको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यो व्यवस्थाले अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्नुका साथै भन्सार प्रशासनलाई पारदर्शी, अनुमानयोग्य र यथार्थपरक बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार प्रणालीले राजस्व चुहावट नियन्त्रण र वास्तविक कारोबार मूल्य निर्धारणमा महत्त्वपूर्ण सहयोग पुर्याउनेछ।
भन्सार विभागले यो प्रणालीलाई विश्व व्यापार संगठनको सम्झौताअनुसार विकास गरिएको जनाएको छ। विभागका अनुसार अन्तर्राष्ट्रिय बजार मूल्य समावेश भएसँगै न्यून बिजकीकरण नियन्त्रण गर्न तथा आयातकर्ताले कम मूल्य देखाएर राजस्व छल्ने प्रवृत्तिमा अंकुश लगाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
यो प्रणाली पहिलो पटक ०८२ असोज ८ गते विराटनगर भन्सार कार्यालय बाट परीक्षणका रूपमा सुरु गरिएको थियो। त्यसपछि ०८२ पुस १८ गतेदेखि ‘आशिकुडा’ प्रणाली लागू भएका देशभरका सबै भन्सार कार्यालयमा विस्तार गरिएको विभागले जनाएको छ।
अब जेठ ११ गतेदेखि उक्त प्रणालीमा अन्तर्राष्ट्रिय बजार मूल्यसमेत एकीकृत गरिएपछि नेपाली भन्सार प्रशासन विश्वव्यापी डेटाबेससँग प्रत्यक्ष रूपमा जोडिएको विभागको दाबी छ।


