काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको विशाल बजेट सार्वजनिक गरेसँगै यसको स्रोत व्यवस्थापन र बजेट घाटा न्यूनीकरण गर्ने विषयमा बहस सुरु भएको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेकाे यो बजेट इतिहासकै सबैभन्दा ठूलो आकारको हो।
चालू आर्थिक वर्षको संशोधित अनुमान १६ खर्ब ८८ अर्बको तुलनामा २५ प्रतिशतले बढाएर ल्याइएको यो बजेटले महत्वाकांक्षी लक्ष्य राखे पनि राजस्वको नियमित स्रोतले मात्र यसको खर्च धान्न नसक्ने देखिन्छ। विगतका वर्षहरूमा जस्तै कुल विनियोजित रकम र अनुमानित राजस्वबीच ठूलो खाडल रहने भएकाले आगामी वर्ष पनि सरकार अर्बौँ रुपैयाँको बजेट घाटामा रहने निश्चित छ।
चालू खर्चकै दबदबा, पुँजीगत खर्च खुम्चियो
कुल २१ खर्ब २४ अर्बको बजेटमध्ये चालू खर्च (प्रशासनिक तथा साधारण खर्च) तर्फ मात्रै १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् कुल बजेटको ५९.८ प्रतिशत विनियोजन गरिएको छ। यसको अर्थ सरकारको ठूलो हिस्सा देशको दैनिक प्रशासनिक काम, तलब, भत्ता र सञ्चालन खर्चमै सकिनेछ।
अर्कोतर्फ, देशको विकास निर्माण र पूर्वाधार खडा गर्ने पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत) मात्र छुट्याइएको छ। वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड (१९.९ प्रतिशत) विनियोजन गरिएको छ, जुन विगतका ऋणको साँवाब्याज तिर्नमा खर्च हुनेछ।
घाटा बजेटको गम्भीर चुनौती
बजेटको आकार ठूलो हुँदा सरकारले लक्ष्य अनुसार राजस्व उठाउन नसकेमा बजेट घाटा अझ चुलिने अर्थविद्हरूको विश्लेषण छ। चालू आर्थिक वर्षमा सुशीला कार्की नेतृत्वको सरकारका अर्थमन्त्री रामेश्वर खनालले गरेको अर्धवार्षिक समीक्षाले पनि सुरुको विनियोजनको ८५.९६ प्रतिशत मात्रै खर्च हुन सक्ने संशोधित अनुमान गरेको थियो, जसको मुख्य कारण स्रोतको संकुचन नै थियो।
यदि आन्तरिक ऋण बढी उठाइएमा बजारमा तरलता अभाव भई निजी क्षेत्रको लगानी संकुचित हुने र महँगी बढ्ने जोखिम रहन्छ। अर्थ मन्त्रालयले चालू आवमा उपभोक्ता मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित राख्ने संशोधित लक्ष्य राखे पनि आगामी वर्षको घाटा बजेटले मूल्यवृद्धिमा थप चाप पार्न सक्ने देखिन्छ।
इतिहासकै ठूलो बजेट ल्याएर लोकप्रिय बन्ने प्रयास गरे पनि डा वाग्लेका सामु राजस्व संकलन चुस्त बनाउने र बढ्दो बजेट घाटालाई सन्तुलनमा राख्दै ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम राख्न फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ।


