काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्ड ‘द रिट्ज–कार्लटन’ नेपाल भित्रिनु पर्यटन र लगानी क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
अर्थ मन्त्रालयमा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिस म्यारियट तथा नेपाली साझेदार चौधरी समूहका प्रतिनिधिहरूसँग भएको भेटमा अर्थमन्त्री वाग्लेले द रिट्ज–कार्लटनको उपस्थितिले नेपाललाई विश्वका धनाढ्य पर्यटक तथा लगानीकर्ताको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
काठमाडौंको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्ज–कार्लटन होटल सञ्चालन गर्ने घोषणा भएको दोस्रो दिन भएको भेटमा अर्थमन्त्रीले नेपालमा व्यवसाय विस्तार गर्ने निर्णयका लागि म्यारियट समूहलाई धन्यवाद दिए।
उनले नयाँ परियोजनाले अन्तर्राष्ट्रिय लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै नेपालमा उच्चस्तरीय पर्यटन पूर्वाधार विस्तारले देशको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याउने बताए। ‘तपाईंहरूको नयाँ परियोजनाले लगानीकर्तामा उत्साह थपेको छ। विश्वका धनाढ्य पर्यटकहरूले अब नेपाललाई थप प्राथमिकताका साथ हेर्न सक्छन्,’ अर्थमन्त्री वाग्लेले भने, ‘यसले नेपालको पर्यटन क्षेत्रलाई अर्को उचाइमा पुर्याउनेछ।’
अर्थमन्त्रीले सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकतामा राखेको जानकारी दिँदै म्यारियट र द रिट्ज–कार्लटनलाई काठमाडौंबाहिर पनि व्यवसाय विस्तार गर्न आग्रह गरे। उनले लगानी सुरक्षा, हवाई तथा स्थलगत पूर्वाधार विकास र व्यवसाय सञ्चालनका लागि आवश्यक सहजीकरणमा सरकार प्रतिबद्ध रहेको बताए।
भेटमा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिस म्यारियटले नेपाल विश्वस्तरीय हिमाल र पदयात्रा गन्तव्य भएको उल्लेख गर्दै द रिट्ज–कार्लटनमार्फत नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा थप प्रवर्द्धन गर्ने बताए।
नेपालमा द रिट्ज–कार्लटनको उपस्थितिले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा थप लगानी विस्तार गर्ने प्रतिबद्धता जनाए।
‘नेपाल प्रचुर पर्यटन सम्भावना भएको देश हो। विश्वस्तरीय ट्रेकिङ गन्तव्य र हिमालको देशमा द रिट्ज–कार्लटनको उपस्थितिले अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने।
भेटमा सीजी हस्पिटालिटी होल्डिङ्स तथा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले नेपाल लगानीका अवसरहरूले भरिपूर्ण मुलुक रहेको बताए। नयाँ सरकार गठनपछि लगानीकर्तामा उत्साह बढेको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई सरकारको निरन्तर सहयोग आवश्यक रहेको धारणा राखे।
भेटमा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी, म्यारियट एशिया प्यासिफिक (चीन बाहेक) का अध्यक्ष राजीव मेनन तथा अर्थ मन्त्रालयका अधिकारीहरूको पनि सहभागिता रहेको थियो।


