बागमती प्रदेशको अर्थतन्त्र सुदृढ, जिडिपी २४ खर्ब २३ अर्ब नाघ्यो

बागमती प्रदेशको अर्थतन्त्र सुदृढ, जिडिपी २४ खर्ब २३ अर्ब नाघ्यो

ट्याक्स खबर
आइतवार, जेठ ३१ २०८३
ट्याक्स खबर
आइतवार, जेठ ३१ २०८३
  • images

    हेटौँडा। बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण ०८२/८३ ले प्रदेशको अर्थतन्त्र राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको देखाएको छ।

    आइतबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रस्तुत गरेको सर्वेक्षणअनुसार आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आय, वित्तीय साक्षरता तथा कुल गार्हस्थ्य उत्पादनका सूचकमा बागमती प्रदेश राष्ट्रिय औसतभन्दा अगाडि रहेको छ।

    सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत रहने अनुमान गरिएको छ, जुन राष्ट्रिय औसत ३.८५ प्रतिशतभन्दा उच्च हो। त्यस्तै प्रदेशको प्रतिव्यक्ति आय २ हजार ६४४ अमेरिकी डलर पुगेको अनुमान गरिएको छ, जबकि राष्ट्रिय औसत १ हजार ५१३ अमेरिकी डलर रहेको छ।

    प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २४ खर्ब २३ अर्ब १२ करोड रुपैयाँ रहने अनुमान गरिएको छ। नेपालको कुल अर्थतन्त्रमा बागमती प्रदेशको योगदान ३६.७ प्रतिशत रहेको उल्लेख गर्दै सर्वेक्षणले यसलाई देशको सबैभन्दा ठूलो आर्थिक केन्द्रका रूपमा चित्रण गरेको छ।

    क्षेत्रगत संरचनातर्फ सेवा क्षेत्रको वर्चस्व कायम रहेको छ। प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ७६.६ प्रतिशत, उद्योग क्षेत्रको १२.२ प्रतिशत र कृषि क्षेत्रको ११.२ प्रतिशत रहने अनुमान गरिएको छ।

    वित्तीय पहुँच र साक्षरताका हिसाबले पनि प्रदेश अग्रस्थानमा देखिएको छ। सर्वेक्षणअनुसार प्रदेशका सबै ११९ स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ भने औसतमा एउटा बैंक शाखाले २ हजार २९ जनालाई सेवा दिइरहेको छ। वित्तीय साक्षरता दर ६४.५ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसत ५७.९ प्रतिशतभन्दा माथि रहेको छ।

    फागुन मसान्तसम्म प्रदेशको मुद्रास्फीति ३.६२ प्रतिशत रहेको उल्लेख गर्दै सर्वेक्षणले मूल्यवृद्धि नियन्त्रणको दायरामै रहे पनि उपभोक्तामाथि यसको प्रभाव कायम रहेको जनाएको छ।

    यद्यपि आर्थिक सूचकहरू सकारात्मक देखिए पनि बजेट कार्यान्वयनको अवस्था भने चिन्ताजनक रहेको सर्वेक्षणले औंल्याएको छ। फागुन मसान्तसम्म प्रदेश सरकारले वार्षिक लक्ष्यको ५७.४८ प्रतिशत अर्थात् ३८ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ। तर सोही अवधिमा कुल बजेट खर्च केवल २२.३० प्रतिशत मात्रै भएको छ।

    विशेषगरी विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च १७.१२ प्रतिशतमा सीमित रहनुले विकास आयोजना कार्यान्वयन सुस्त रहेको र बजेट खर्च गर्ने क्षमतामा सुधार आवश्यक रहेको संकेत गरेको छ।

    आर्थिक सर्वेक्षणले बागमती प्रदेशको आर्थिक वृद्धि, प्रतिव्यक्ति आय र वित्तीय पहुँच उत्साहजनक रहे पनि विकास बजेटको प्रभावकारी कार्यान्वयन आगामी दिनको प्रमुख चुनौतीका रूपमा रहेको निष्कर्ष निकालेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend