पुँजीबजारका विज्ञ डा गोपालप्रसाद भट्ट बने धितोपत्र बोर्डको अध्यक्ष

पुँजीबजारका विज्ञ डा गोपालप्रसाद भट्ट बने धितोपत्र बोर्डको अध्यक्ष

शुक्रवार, आषाढ ५ २०८३
शुक्रवार, आषाढ ५ २०८३
  • images

    काठमाडौँ। सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको नयाँ नेतृत्वको जिम्मेवारी सुम्पने निर्णय गरेको हो।

    तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले २०८३ वैशाख ४ गते राजीनामा दिएपछि सेबोनको अध्यक्ष पद रिक्त रहँदै आएको थियो। लामो समय नेतृत्वविहीन बनेको बोर्डमा नयाँ अध्यक्ष नियुक्त भएसँगै पूँजी बजारमा देखिएको अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ।

    कैलालीका स्थायी बासिन्दा भट्टले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन्। उनको शोध विषय ‘नेपालमा धितोपत्र बजारको प्रभावकारिता’ रहेको थियो। उनी सेयर बजार विश्लेषक तथा प्राध्यापकका रूपमा समेत परिचित छन्। हाल विभिन्न कलेजहरूमा लगानी व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापन तथा वित्तीय डेरिभेटिभ्सलगायत विषय अध्यापन गराउँदै आएका छन्।

    नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकका रूपमा कार्यरत रहँदा उनले बैंक सुपरिवेक्षण, आर्थिक अनुसन्धान तथा मानव संसाधन व्यवस्थापनजस्ता महत्त्वपूर्ण विभागको नेतृत्व सम्हालेका थिए। वित्तीय क्षेत्र र पूँजी बजार दुवैमा उनको अनुभवलाई बोर्डको नेतृत्वका लागि महत्वपूर्ण मानिएको छ।

    लामो समयदेखि अध्यक्ष पद रिक्त रहँदा सेबोनका विभिन्न काम प्रभावित भएका थिए। विशेषगरी नयाँ प्राथमिक शेयर निष्काशन (आईपीओ) स्वीकृति प्रक्रिया सुस्त बनेको, बजार नियमन तथा सुपरिवेक्षणका काम प्रभावित भएको र सञ्चालक समितिका बैठकसमेत नियमित रूपमा बस्न नसकेको अवस्था थियो।

    नयाँ नेतृत्वसँगै आईपीओ स्वीकृति प्रक्रिया तीव्र बनाउने, बजारमा पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने तथा लगानीकर्ताको विश्वास मजबुत बनाउने अपेक्षा गरिएको छ। पूँजी बजारकै विषयमा विद्यावारिधि गरेका र बैंकिङ क्षेत्रको लामो अनुभव बोकेका भट्टको नियुक्तिलाई लगानीकर्ताले सकारात्मक रूपमा हेरेका छन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend