काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको थियो । जेनजी आन्दोलनपछि बालेन शाह नयाँ प्रधानमन्त्री भएलगत्तै कान्दाले नेपालको विकासका प्राथमिकताहरूमा एडीबीले निरन्तर सहयोग गर्ने धारणा एक्समार्फत् सार्वजनिक गरेका थिए ।
न्दाको नेपाल भ्रमणको अवसरमा एडीबीसँग नेपालले १६ करोड ५० लाख अमेरिकी डलर (२५ अर्ब रुपैयाँ बराबर) सहुलीयतपूर्ण ऋण लिने सम्झौता भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न सो रकम बराबरको सहुलीयतपूर्ण ऋण लिनेबारे सिोमबार सम्झौता भएको हो ।
सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए ।
सम्झौतामा भन्सारको आधुनिकीकरण परियोजनाका लागि एडीबीले दिने ५ करोड डलरको ऋण लगानी सम्झौता र एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रीय) आयोजनासम्बन्धी ११ करोड ५० लाख अमेरिकी डलरको सम्झौताको दाबी गरिएको छ।
आधा घण्टा चलेको शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरेका हुन् ।
त्यस्तै, जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ।


