प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय
काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, ट्राफिक प्रवाहको विश्लेषण तथा नियम उल्लंघन गर्ने सवारीमाथि कारबाहीलाई तीव्र बनाउँदै प्रहरीले ‘फेसलेस ट्राफिकिङ’ प्रणाली विस्तार गरिरहेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेका अनुसार हाल काठमाडौं उपत्यकामा हुने ट्राफिक कारबाहीमध्ये करिब ४० देखि ५० प्रतिशत सीसीटिभी निगरानीका आधारमा भइरहेको छ ।
प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र विवादरहित बनाएको उनले बताए ।
ट्याक्सखबर सँगको कुराकानीमा एसएसपी काफ्लेले ट्राफिक प्रहरीले सडकमा प्रत्यक्ष खटिनुका साथै सिसिटिभीमार्फत ट्राफिक फ्लोको अध्ययन गरेर आवश्यक स्थानमा जनशक्ति परिचालन गरिरहेको जानकारी दिए।
कुराकानी:
ट्राफिकको लक्ष्य के हो ?
‘पछिल्लो समय ट्राफिक व्यवस्थापनमा सीसीटिभीको प्रयोग उल्लेखनीय रूपमा बढेको छ । हाल काठमाडौं उपत्यकामा हुने करिब ४० देखि ५० प्रतिशत ट्राफिक कारबाही सीसीटिभी निगरानीका आधारमा भइरहेको छ । हाम्रो उद्देश्य ‘फेसलेस ट्राफिकिङ’ हो । सडकमा ट्राफिक प्रहरी र नागरिकबीच हुने अनावश्यक विवाद अन्त्य गर्दै प्रविधिमार्फत निगरानी र कारबाहीलाई प्रभावकारी बनाउने हाम्रो लक्ष्य छ ।’
ट्राफिक प्रहरीको मुख्य उद्देश्य राजस्व संकलन गर्नु नभई सडक नियमको प्रभावकारी कार्यान्वयनमार्फत दुर्घटना न्यूनीकरण गर्नु रहेको छ।
काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी दैनिक सडकमा खटिनुका साथै सीसीटिभी क्यामेराको प्रभावकारी प्रयोग गरेर ट्राफिक व्यवस्थापन गरिरहेको छ।
‘अहिले काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनलाई व्यवस्थित गर्ने क्रममा ट्राफिक प्रहरी भौतिक रूपमा सडकमा खटिएको छ । त्यससँगै सीसीटिभी क्यामेराबाट ट्राफिक फ्लोको अध्ययन, निगरानी र विश्लेषण गरेर आवश्यक स्थानमा जनशक्ति परिचालन गर्ने काम पनि भइरहेको छ,’ ।
ट्राफिक प्रहरीलाई राजस्व संकलन गर्ने निकायका रूपमा बुझ्ने धारणा गलत भएको स्पष्ट छ।
,‘ट्राफिक प्रहरी भनेको नियामक निकाय हौँ । हाम्रो प्रमुख दायित्व राजस्व संकलन गर्नु होइन, सडक नियमको पालना गराउनु हो । यदि नागरिकले सडक नियम पालना गरिदिनुभयो भने जरिवाना गर्नुपर्ने अवस्था नै आउँदैन ।’
कारबाहीमा कति पर्छन् ?
एसएसपी काफ्लेका अनुसार कार्यदिनमा औसत दुई हजारभन्दा बढी सवारी चालक ट्राफिक कारबाहीमा पर्ने गरेका छन्। कारबाहीको संख्या बढ्नुको अर्थ ट्राफिक प्रहरीले राजस्व बढाउन खोजेको नभई नियम उल्लंघन रोक्न खोजेको छ।
,‘गल्तीको प्रकृतिअनुसार जरिवाना उठ्ने हो, हाम्रो उद्देश्य जरिवाना उठाउनु हुँदै होइन । नियम उल्लंघन गर्नेलाई सचेत गराउने र त्यही गल्ती दोहोरिन नदिन कानुन कार्यान्वयन गरिएको हो ।’
जरिवाना संकलनबाट राज्य सञ्चालन गर्ने उद्देश्य ट्राफिक प्रहरी वा सरकारको नभएको उल्लेख गर्दै सडक सुरक्षालाई प्राथमिकतामा राखेर मात्रै कारवाही गरिने छ ।
दैनिक दुर्घटनामा मृत्युको संख्या ?
नेपालमा सडक दुर्घटनाको अवस्था अझै चिन्ताजनक रहेको छ, देशभर दैनिक औसत सातदेखि आठ जनाले ज्यान गुमाउने र करिब २० जना गम्भीर घाइते हुने तथ्यांक रहेको छ।
‘सडक दुर्घटनामा हुने मृत्यु र गम्भीर घाइतेको संख्या घटाउनु नै सरकार र ट्राफिक प्रहरीको मुख्य दायित्व हो। त्यसका लागि हामी आफ्नो व्यावसायिक क्षमता अभिवृद्धिसँगै प्रविधिको प्रयोग बढाइरहेका छौं।’
सडक प्रयोग गर्दा कुनै पनि नागरिकले अनाहकमा ज्यान गुमाउन वा घाइते हुन नपरोस् भन्ने उद्देश्यले ट्राफिक प्रहरी अहोरात्र खटिरहेको छ ।
ट्राफिक प्रहरीले लुकेर कारबाही गर्ने भन्ने आलोचनालाई प्रविधिले अन्त्य गर्ने विश्वास छ । सीसीटिभीबाट प्राप्त भिडियो प्रमाणकै आधारमा कारबाही गरिने छ।
‘उहाँहरूले गरेको गल्तीको भिडियो प्रमाण हामीसँग हुन्छ । त्यसले ट्राफिक प्रहरी र नागरिकबीच हुने विवाद पनि घटाउँछ र कारबाहीलाई थप पारदर्शी बनाउँछ,’ ।
कसरी बढिरहेका छन् दुर्घटना ?
काठमाडौं उपत्यकामा दुर्घटनाका प्रमुख कारण तीव्र गति, लेन अनुशासन उल्लंघन, निषेधित स्थानमा यू–टर्न गर्ने, ट्राफिक बत्तीको उल्लंघन तथा असावधानीपूर्ण सवारी सञ्चालन रहेको छ।
विशेषगरी चक्रपथ क्षेत्रमा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति दुर्घटनाको मुख्य कारण बनेको छ।
,‘जहाँ पूर्वाधार कमजोर छ, त्यहाँ झन् बढी सडक अनुशासन आवश्यक हुन्छ। साँघुरा सडक, उचित यू–टर्न सुविधा नहुँदा चालकले अझ बढी सावधानी अपनाउनुपर्छ।’
सरकारबाट कत्तिको सहयोग छ ?
वर्तमान सरकारले सडक सुरक्षा सुधार र ट्राफिक व्यवस्थापनका लागि आवश्यक सहयोग गरिरहेको छ ।
‘कुनै पनि देशको समृद्धिको सुरुवात ट्राफिक र रोड सेन्सबाट हुन्छ। अहिले सरकारले ट्राफिक प्रहरीलाई राम्रो साथ र सहयोग गरिरहेको छ। सरकारको पनि उद्देश्य सडक मृत्युदर घटाउनु नै हो,’ ।
१०३ मा फोन गरेर उजुरी दिन सकिने ?
ट्राफिक नियम उल्लंघन, सडक अवरोध वा ट्राफिक प्रहरीको व्यवहारबारे गुनासो भए सर्वसाधारणले टोल–फ्री नम्बर १०३ मा फोन गर्न सक्ने सुविधा छ ।
त्यसैगरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको फेसबुक पेज तथा वेबसाइटमार्फत फोटो र भिडियोसहित उजुरी दर्ता गर्न सकिने व्यवस्था रहेको छ ।
,‘यदि कुनै ट्राफिक प्रहरीले पनि अनुचित व्यवहार गरेको छ भने त्यसको पनि उजुरी दिन सकिन्छ । हामी सबै गुनासोलाई गम्भीरतापूर्वक लिन्छौँ,’ ।
नियम पालना गर्न आग्रह ?
एसएसपी काफ्लेले सबै सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै जेब्रा क्रसिङ वा ओभरहेड ब्रिज प्रयोग गर्न, लेन अनुशासन कायम गर्न, तीव्र गतिमा सवारी नचलाउन तथा अनावश्यक हर्न प्रयोग नगर्न आग्रह गरे।
‘सडक प्रयोग गर्ने सबै नागरिकले ट्राफिक नियम पालना गरिदिनुभयो भने दुर्घटना पनि घट्छ, जरिवाना पनि स्वतः कम हुन्छ। हाम्रो चाहना नागरिकलाई कारबाही गर्नु होइन, सुरक्षित रूपमा गन्तव्यसम्म पु-याउनु हो,’ उनले भने।
उनले सडक सुरक्षा ट्राफिक प्रहरीको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएकाले सबैले जिम्मेवार भएर सडक प्रयोग गर्नुपर्नेमा जोड दिए ।
सुरेश काफ्ले
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय


