काठमाडौं । गत आर्थिक वर्ष २०८२-८३ मा नेपाल सरकारलाई शेयर कारोबारबाट १० अर्ब ३५ करोड १२ लाख रुपैयाँ पुँजीगत लाभकर राजस्व प्राप्त भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा भने यो रकम उल्लेख्य रूपमा घटेको हो।
सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को तथ्यांकअनुसार आर्थिक वर्ष २०८१-८२ मा शेयर कारोबारबाट सरकारले १६ अर्ब ५४ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो।

त्यसको तुलनामा गत आर्थिक वर्षमा करिब ६ अर्ब १९ करोड रुपैयाँ अर्थात् करिब ३७ प्रतिशतले राजस्व घटेको देखिएको छ।
गत बर्ष साढे ५ प्रतिशतले सम्पत्ति घट्यो
गत आर्थिक वर्ष २०८२-८३मा शेयर बजारमा को सम्पत्ति अर्थात मार्केट क्याप साढे ५ प्रतिशतले घटेको छ । पछिल्लो एक वर्षको अवधिमा शेयर कारोबार रकममा २४ प्रतिशतको गिरावट आएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१-८२ मा कुल २१ खर्ब २४ अर्ब ९१ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा गत आर्थिक वर्ष अर्थात् २०८२-८३ मा १६ खर्ब १ अर्ब ८९ करोड ९० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ।
यो अघिल्लो वर्षको तुलनामा ५ खर्ब २३ अर्ब ३ करोड ६० लाख रुपैयाँले कमी हो। आर्थिक वर्ष २०८१-८२ मा १८९ प्रतिशतले बढेको कारोबार रकम गत आर्थिक वर्षमा भने २४.६१ प्रतिशतले घटेको हो।
गत आर्थिक वर्षमा उत्पादन तथा प्रसोधन क्षेत्रको सेयर कारोबार र डिबेन्चरको शेयर कारोबारमा मात्रै बृद्धि भएको छ । अन्य बाँकी सबै समूहको शेयर कारोबारमा गिरावट देखिएको छ। सबैभन्दा बढी वित्त समूहतर्फको कारोबार ६६.६४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूहको कारोबार ६१ प्रतिशतले घटेको छ।

यसैगरी २०८२ को असार र २०८३ को असारको तुलना गर्दा कुल कारोबार रकम ४९.४७ प्रतिशतले घटेको छ।
२०८२ असारमा २ खर्ब १२ अर्बको कारोबार भएकोमा यस वर्षको असारमा जम्मा १० अर्ब ७ अर्बको मात्रै बारोबार भएको छ। जसमा अन्य समूहको कारोबार रकम ७० प्रतिशतले घटेको छ भने वाणिज्य बैंकको सेयर कारोबार रकम ५२.८१ प्रतिशतले घटेको छ।
अघिल्लो असारमा २० अर्ब २७ करोड रुपैयाँ बराबरको भएकोमा गएको असारमा भने जम्मा ९ अर्ब ५६ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ।


