काठमाडौं। नेपालको अटोमोबाइल बजारमा विद्युतीय सवारी (इभी) को माग बढ्दै जाँदा नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो बजार नेटवर्कलाई आक्रामक रूपमा विस्तार गर्न थालेको छ।
मलेसियाको अग्रणी राष्ट्रिय ब्रान्ड प्रोटोनले चिनियाँ अटोमोबाइल जायन्ट जिलीसँगको रणनीतिक साझेदारीपश्चात् इभी खण्डमा लिएको नयाँ मोडलाई नेपालमा पनि तीव्र गतिमा स्थापित गराउने रणनीतिका साथ कम्पनी अघि बढेको हो।
विस्तार अभियानअन्तर्गत जगदम्बा मोटर्सले मङ्गलबारदेखि भक्तपुरको राधेराधेमा अत्याधुनिक सुविधासम्पन्न सोरुम तथा सर्भिस सेन्टरको औपचारिक शुभारम्भ गरेको छ।
पूर्वाधार, प्रविधि र सेवाको गुणस्तरका हिसाबले यो केन्द्र नेपालकै उत्कृष्ट प्रोटोन सोरुम तथा सर्भिस सेन्टर रहेको कम्पनीको दाबी छ। उपत्यकाभित्र काठमाडौँ र ललितपुरकेन्द्रित इभी सेवालाई भक्तपुरसम्म विस्तार गरी ग्राहकलाई सहज पहुँच दिने लक्ष्य कम्पनीले लिएको छ।
अब तीन ठूला सहरमा नयाँ शाखा थपिँदै
सन् २०१८ देखि नेपाली बजारमा प्रोटोनका गाडी बिक्री गर्दै आएको जगदम्बा मोटर्सले यसअघि नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढी गरी सात वटा मुख्य स्थानहरूबाट सेल्स तथा सर्भिस सेवा दिँदै आएको थियो।
भक्तपुर शाखाको सञ्चालनसँगै कम्पनीले उपत्यका बाहिरका व्यापारिक केन्द्रलाई केन्द्रित गर्ने भएको छ। आगामी हप्तादेखि नै वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा नयाँ आधिकारिक सोरुमहरू शुभारम्भ गर्न लागिएको छ। यससँगै मधेस र लुम्बिनी प्रदेशका प्रमुख सहरहरूमा प्रोटोनको पहुँच उल्लेख्य रूपमा बढ्नेछ।
सन् २०१७ देखि जिलीसँगको साझेदारीपछि प्रोटोनले इभी प्रविधिमा ठूलो फड्को मारेको छ। हाल मलेसियामा अग्रणी इभी ब्रान्डको रूपमा स्थापित ‘प्रोटोन इ.मासलाई नेपालमा पनि अग्रणी विद्युतीय सवारी ब्रान्डका रूपमा स्थापित गराउने जगदम्बाको मुख्य लक्ष्य छ।


