काठमाडौं। अन्तर्राष्ट्रिय बुलियन बजारमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको छ।
साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ। जुन पछिल्ला दिनकै ठूलो दैनिक गिरावटमध्ये एक हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ कायम भएको छ। बिहीबार भने सुनको मूल्य ३ सय रुपैयाँ बढेर २ लाख ९१ हजार ३ सय रुपैयाँ पुगेको थियो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ५ सय ५ रुपैयाँ रहेको चाँदी शुक्रबार १५५ रुपैयाँ घटेर ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ३१ अमेरिकी डलर आसपास कारोबार भइरहेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ।
बजार विश्लेषकहरूका अनुसार विश्वव्यापी आर्थिक संकेत, अमेरिकी डलरको उतारचढाव, केन्द्रीय बैंकहरूको नीतिगत अपेक्षा तथा अन्तर्राष्ट्रिय बुलियन बजारको चालका कारण सुनचाँदीको मूल्यमा तीव्र परिवर्तन देखिएको हो।
हालको गिरावटले खरिदकर्ताका लागि केही राहत ल्याए पनि अन्तर्राष्ट्रिय बजारको अस्थिरताका कारण आगामी दिनमा मूल्यमा थप उतारचढाव हुन सक्ने सम्भावना रहेको छ।


