काठमाडौँ। काठमाडौँ महानगरपालिकाले टेकुस्थित बायोग्याँस प्लान्टलाई पुनःसञ्चालन गरी फोहोरबाट आम्दानी बढाउने र व्यावसायिक मोडलमा लैजाने तयारी अघि बढाएको छ। प्लान्टलाई दिगो र नाफामूलक ढंगले सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबिच सम्झौता भएको छ।
कार्यवाहक मेयर सुनिता डंगोलको रोहवरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
यो परियोजना आर्थिक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ। २०७२ मा निर्माण सुरु भई २०७५ देखि सञ्चालनमा आएको यस प्लान्टमा काठमाडौँ महानगरपालिका र युरोपियन युनियनको १ करोड ८२ लाख रुपियाँ लगानी भइसकेको छ। प्राविधिक कारणले बन्द भएको यो परियोजनालाई पुनः सञ्चालनमा ल्याएर पुरानो लगानीको सदुपयोग गर्ने र नयाँ वित्तीय प्रतिफल हासिल गर्ने लक्ष्य राखिएको छ।
यस पटक महानगरले प्लान्टलाई सार्वजनिक–निजी साझेदारी वा व्यावसायिक मोडलमा लैजाने योजना बनाएको छ। जसअनुसार मर्मतसम्भार तथा सञ्चालनका लागि महानगरले आवश्यक बजेट व्यवस्थापन गर्नेछ। व्यावसायिक रूपमा सञ्चालन गर्न योग्य जनशक्ति वा निजी क्षेत्रका सञ्चालक छनोट गरिनेछ। केन्द्रले विस्तृत सम्भाव्यता अध्ययन, उपकरण खरिद तथा परीक्षण गरी महानगरलाई हस्तान्तरण गर्नेछ।
यो प्लान्ट पूर्ण क्षमतामा सञ्चालन हुँदा जैविक फोहर व्यवस्थापन मात्र नभई प्रत्यक्ष आर्थिक तथा वातावरणीय लाभ हासिल हुनेछ। यो प्लान्टले दैनिक ३ मेट्रिक टन कुहिने फोहो खपत गर्नेछ। जसबाट १४ किलोवाट बिजुली निस्किने आकलन छ। ३०० किलोग्राम जैविक मल उत्पादन हुनेछ।
जैविक मल र ऊर्जा बिक्रीबाट महानगरको आम्दानी थपिनेछ। साथै, कुहिने फोहर टेकुमै खपत हुँदा बञ्चरेडाँडासम्म फोहर ढुवानी गर्दा हुने इन्धन तथा ढुवानी खर्चमा उल्लेख्य कटौती आउनेछ।
सम्झौता कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले अन्तर्राष्ट्रिय ‘हरित जलवायु कोष’ अन्तर्गतका वित्तीय कार्यक्रममा समेत महानगरपालिकासँग सहकार्य गर्न सकिने सम्भावना औँल्याए। यसले काठमाडौँमा भविष्यका वातावरणमैत्री तथा ऊर्जा सम्बन्धी ठुला आयोजनाका लागि वैदेशिक अनुदान र लगानी भित्र्याउने ढोका खोल्नेछ।
कार्यवाहक मेयर डंगोलले संरचना पुनःस्थापना गर्नु मात्र ठुलो कुरा नभई यसको दिगो सञ्चालन र आर्थिक प्रतिफल मुख्य उपलब्धि हुने बताइन्।


