करदाता उपहार कार्यक्रममा ११ लाख कारोबार सहभागी, पहिलो विजेता घोषणा केही दिनमै

करदाता उपहार कार्यक्रममा ११ लाख कारोबार सहभागी, पहिलो विजेता घोषणा केही दिनमै

ट्याक्स खबर
मंगलवार, श्रावण १९ २०८३
ट्याक्स खबर
मंगलवार, श्रावण १९ २०८३
  • images

    काठमाडौं। करदाता उपहार प्रोत्साहन कार्यक्रममा सहभागी हुने योग्य कारोबारको संख्या ११ लाख नजिक पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार १५ दिनमा क्यूआर भुक्तानी र नगद कारोबारका बिलसहित कुल १० लाख ८२ हजार ६२२ वटा कारोबार उपहारका लागि योग्य भएका छन्।

    विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार साउन १ देखि १५ गतेसम्म क्यूआरमार्फत भएका १० लाख ७४ हजार ७९६ कारोबार उपहार कार्यक्रममा सहभागी छन्। यस्तै, शनिबारदेखि सुरु गरिएको भौतिक बिल अपलोड सुविधामार्फत नगद कारोबारका ३ हजार ४२७ वटा बिल प्रणालीमा दर्ता भएका छन्।

    विभागले उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारका भौतिक बिल पनि प्रणालीमा प्रविष्ट गर्न सकिने भएकाले योग्य कारोबारको संख्या अझै बढ्ने अपेक्षा गरेको छ। 

    सरकारले पहिलो १५ दिनको अवधिका लागि १५ जना उपभोक्तालाई दैनिक एक-एक लाख रुपैयाँ तथा एक जनालाई बम्परमा १० लाख रुपैयाँ पुरस्कार दिने तयारी गरेको छ। पहिलो प्रोत्साहन उपहार साउन १६ गते घोषणा गर्ने योजना भए पनि प्राविधिक तयारी पूरा नभएकाले केही दिन ढिलाइ भएको विभागले जनाएको छ।

    विभागले पहिलो उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारका बिल प्राप्त गरेका उपभोक्तालाई करदाता प्रोत्साहन पोर्टलमा आफ्नो बिल प्रविष्ट गर्न आग्रह गरेको छ।

    आन्तरिक राजस्व विभागले शनिबारदेखि करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा ल्याएको हो। चालु आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर अनुपालन बढाउन र उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्न यो कार्यक्रम घोषणा गर्नुभएको थियो।

    यस कार्यक्रमअन्तर्गत १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी विधिवत् बिल लिने उपभोक्ता सहभागी हुन सक्छन्। सरकारले हरेक दिन एक जनालाई कर कट्टीपछि एक लाख रुपैयाँ र प्रत्येक १५ दिनमा एक जनालाई बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको छ। बम्पर पुरस्कार रकममा भने प्रचलित कानुनअनुसार कर कट्टी गरिनेछ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend