काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।
सरकारले लगानीको वातावरण निर्माणसँगै रोजगारी सिर्जना र अर्थतन्त्रमा सुधारका लागि नीतिगत तथा कानुनी सुधार अघि बढाइरहेको भन्दै उनले प्रवासी नेपालीको पुँजी, ज्ञान र सीप नेपालमा भित्र्याउन सरकार तयार रहेको बताएका हुन्।
चीनको ग्वाङझाउमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन गर्ने क्षेत्रमा लगानी गर्न प्रवासी नेपालीलाई आग्रह गरे।
उनका अनुसार सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न कानुनी तथा नीतिगत सुधारलाई तीव्रता दिएको छ। बजेटमार्फत २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीको वातावरण सहज बनाउन काम भइरहेको उनले बताए।
अर्थमन्त्री वाग्लेले सरकारको प्राथमिकता सम्मानजनक रोजगारी सिर्जना गर्नु रहेको पनि स्पष्ट पारे। देशभित्रै रोजगारीका अवसर विस्तार गर्न एआई तथा सूचना प्रविधिसहित नयाँ सम्भावनाका क्षेत्रमा काम गर्ने वातावरण बनाउन सरकार केन्द्रित रहेको उनको भनाइ छ।
सरकारले आर्थिक सुधारको कामलाई चरणबद्ध रूपमा अघि बढाइरहेको उल्लेख गर्दै उनले पहिलो वर्ष सुधारको सुरुआत गरिएको र आगामी वर्षहरूमा त्यसको परिणाम देखिने दाबी गरे। 'पहिलो वर्ष सुधारको सुरुआत गर्यौँ, दोस्रो वर्ष अझै फराकिलो सुधारको काम अघि बढ्नेछ। तेस्रो र चौथो वर्ष सुधारको नतिजा देखिनेछ। चौथो र पाँचौँ वर्षमा यसको प्रतिफल जनताले पाउनेछन्,' उनले भने।
आन्तरिक स्रोतमा जोड, डायस्पोराको पुँजी आवश्यक
अर्थमन्त्री वाग्लेले सरकारका विकास तथा सुधारका लक्ष्य पूरा गर्न आन्तरिक स्रोत परिचालनलाई महत्वपूर्ण मानेका छन्। बाह्य लगानीको स्रोत चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै उनले अहिले प्रवासी नेपालीको पुँजी र ज्ञान सरकारका लागि थप महत्वपूर्ण भएको बताए।
उनका अनुसार प्रवासमा रहेका नेपालीको पुँजी मात्र होइन, उनीहरूले हासिल गरेको ज्ञान, सीप र अनुभवसमेत नेपाल भित्र्याउने सरकारको नीति छ।
'निर्वाचनको घोषणापत्रमा पनि हामीले सफ्ट पावरको उपयोगका कुरा गरेका थियौँ। अहिले सरकारले डायस्पोराको लगानी र ज्ञान नेपाल भित्र्याउने नीति लिएको छ,'उनले भने।
सरकारले केही दिनअघि धितोपत्र बाँडफाँट तथा निष्कासनसम्बन्धी नियमावली संशोधन गरेर नेपाल सरकार र एनआरएनए इन्भेस्टमेन्ट फण्डबाट जारी हुने सेयरको हिस्सा ८५ प्रतिशत पुर्याएको उनले जानकारी दिए।
यसलाई प्रवासी नेपालीको लगानी नेपाल भित्र्याउने महत्वपूर्ण नीतिगत आधारका रूपमा प्रस्तुत गर्दै उनले थप लगानीका लागि आह्वान गरे।
'आउनुहोस्, ढुक्क भएर लगानी गर्नुहोस्। आफ्नो ज्ञान र सीपलाई यहाँ प्रयोग गर्नुहोस्,' उनले प्रवासी नेपालीलाई आग्रह गरे।
रुग्ण उद्योगमा पनि डायस्पोरालाई अवसर
अर्थमन्त्रीले सरकारले रुग्ण अवस्थामा रहेका उद्योगलाई पुनर्जीवन दिने तयारी गरिरहेको पनि बताए। लामो समयदेखि सञ्चालनमा आउन नसकेका वा कमजोर अवस्थामा रहेका उद्योगलाई पुनर्ताजगी दिई सञ्चालनमा ल्याउने सरकारको योजना रहेको उनको भनाइ छ।
यस्ता उद्योग सञ्चालनका लागि आवश्यक ज्ञान, सीप र व्यवस्थापकीय क्षमता भएका प्रवासी नेपालीले समेत योगदान गर्न सक्ने उनले बताए।
सरकारले अर्थतन्त्रलाई सुधारको बाटोमा लैजान आन्तरिक स्रोत परिचालन, निजी तथा बाह्य लगानी विस्तार र प्रवासी नेपालीको पुँजी तथा ज्ञान उपयोगलाई समानान्तर रूपमा अघि बढाउन खोजेको उनको भनाइ छ।
यसका लागि सरकार लगानीको वातावरण सुधार्नेदेखि रोजगारी सिर्जना र नयाँ प्रविधिमा आधारित अर्थतन्त्र निर्माणसम्म केन्द्रित रहेको अर्थमन्त्री वाग्लेले बताए।


