काठमाडौं । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो महिनामै सरकारको राजस्व संकलन ९२ अर्ब रुपैयाँ नाघेको छ।
महालेखा नियन्त्रक कार्यालयको साउन ३१ गते (अगस्ट १६) सम्मको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको सुरुवाती ३१ दिनमा ९२ अर्ब २२ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
सरकारले चालु आर्थिक वर्षका लागि कुल १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। त्यसको तुलनामा साउन ३१ गतेसम्मको संकलन ५.८४ प्रतिशत हो।
एकैदिन ४ अर्ब १३ करोड राजस्व
साउन ३१ गते मात्रै सरकारले ४ अर्ब १३ करोड ७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो दिनसम्म कुल राजस्व संकलन ८८ अर्ब ९ करोड ४६ लाख रुपैयाँ रहेकोमा एकैदिन ४ अर्बभन्दा बढी थपिएको हो।
कुल राजस्वमध्ये कर राजस्व ८५ अर्ब १९ करोड ६ लाख रुपैयाँ पुगेको छ। यो कुल लक्ष्यको ६.०७ प्रतिशत हो।
त्यस्तै, गैरकर राजस्व ७ अर्ब ३ करोड ४७ लाख रुपैयाँ संकलन भएको छ। गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको ३.९७ प्रतिशत प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
अनुदानबाट २ अर्ब ४० करोड
सरकारले साउन ३१ गतेसम्म २ अर्ब ४० करोड ३ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ। अनुदानतर्फ वार्षिक लक्ष्यको ०.३९ प्रतिशत मात्र प्राप्त भएको तथ्यांकमा उल्लेख छ।
यस अवधिमा अन्य प्राप्तिबाट समेत ९७ करोड ७ लाख रुपैयाँ प्राप्त भएको छ।
यसरी कर, गैरकर, अनुदान तथा अन्य प्राप्तिसहित सरकारको कुल प्राप्ति ९३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ पुगेको छ।
खर्च भने ४१ अर्ब ८८ करोड
राजस्व संकलन बढिरहँदा सरकारको खर्च भने साउन ३१ गतेसम्म ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ पुगेको छ। यो कुल बजेटको १.९७ प्रतिशत हो।
त्यसमध्ये चालु खर्च २१ अर्ब ४० करोड ३८ लाख रुपैयाँ, पुँजीगत खर्च १ अर्ब ३२ करोड ८५ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ।
तथ्यांकले सरकारको आम्दानी र खर्चबीचको अन्तर भने निकै फराकिलो रहेको देखाएको छ। साउन महिनाको अन्त्यतिर आइपुग्दा राजस्व संकलनले ९२ अर्बको सीमा पार गरे पनि वार्षिक लक्ष्य भेट्टाउन आगामी महिनाहरूमा राजस्व संकलनको गति अझ तीव्र बनाउनुपर्ने देखिन्छ।



