काठमाडौं । रसुवाको रसुवागढी भन्सार यार्डमा आएको विनाशकारी बाढीले ३०० भन्दा बढी गाडी बगाएपछि सरकारको भन्सार राजस्वमा समेत ठूलो धक्का पर्ने देखिएको छ ।
गत भदौ १० गते आएको बाढीका कारण भन्सार जाँचपासका लागि यार्डमा राखिएका विद्युतीय सवारीसाधन तथा ढुवानी ट्रकसहित ठूलो संख्यामा गाडी बगेका हुन् ।
यार्डमा चेकजाँचका लागि राखिएका विद्युतीय गाडी र ढुवानी ट्रक गरी ३०० भन्दा बढी सवारीसाधन बाढीले बगाएको प्रारम्भिक विवरण छ ।
बाढीमा थप सवारीसाधनसमेत परेको हुनसक्ने भएकाले क्षतिको यकिन विवरण भने अझै आउन बाँकी रहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानाले ट्याक्सखबरलाई जानकारी दिए ।
विशेषगरी विद्युतीय सवारीसाधन (ईभी) ठूलो संख्यामा बाढीमा परेका कारण त्यसबाट उठ्ने भन्सार महसुल, अन्तःशुल्कलगायत सरकारी राजस्वमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।
व्यवसायीका अनुसार बाढी आउनुअघि चाडपर्वलाई लक्षित गरी चीनबाट ठूलो संख्यामा गाडी तथा अन्य सामान रसुवागढी नाकाबाट आयातको तयारीमा थियो ।
रसुवागढी नाका नेपालमा चीनबाट विद्युतीय सवारीसाधन भित्र्याउने प्रमुख नाकामध्ये एक हो । गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै यस नाकाबाट ६ हजार ५०० भन्दा बढी ईभी आयात भएको विवरण सार्वजनिक भएको छ ।
सोही अवधिमा रसुवा भन्सार कार्यालयले कुल १३ अर्ब ६४ करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
यसपटक बाढीले गाडी, कन्टेनर र भन्सार संरचनामै ठूलो क्षति पुर्याएपछि आगामी दिनमा आयात प्रभावित हुने र त्यसको असर सरकारी राजस्वमा समेत देखिने सम्भावना छ ।
तर बाढीमा परेका गाडीमध्ये कति जाँचपास भइसकेका थिए, कति जाँचपासको प्रक्रियामा थिए र कति गाडीबाट कति राजस्व उठ्न बाँकी थियो भन्ने यकिन विवरण सरकारले सार्वजनिक गरिसकेको छैन ।
त्यसैले सरकारलाई भएको राजस्व घाटाको वास्तविक रकम अहिले नै निर्धारण गर्न सकिने अवस्था नहरेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुङ्गानाले उल्लेख गरे ।
यसअघि ल्हेन्दे खोलाको बाढीका कारण समेत रसुवागढी नाका लामो समय प्रभावित हुँदा राजस्व संकलनमा ठूलो असर परेको थियो ।
गत आर्थिक वर्षका लागि ४० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा रसुवा भन्सारले १३ अर्ब ६४ करोड ६० लाख रुपैयाँ मात्रै संकलन गरेको थियो ।


