काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढीमा ठूलो क्षति पुर्याएको छ। बाढीले रसुवागढी राजमार्गको ठूलो हिस्सा बगाएपछि नेपाल र चीनबीचको प्रमुख स्थलमार्ग विच्छेद भएको छ।
बाढीका कारण रसुवागढी भन्सार कार्यालय क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। भन्सार कार्यालय तथा आसपासमा रहेका सयौँ मालवाहक कन्टेनर बाढीले बगाएको व्यवसायीहरूले बताएका छन्। अर्को प्रमुख व्यापारिक नाका तातोपानीसमेत पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा नेपाल–चीन व्यापार थप प्रभावित भएको छ।
व्यवसायीहरूका अनुसार दसैँ–तिहारलाई लक्षित गरी चीनबाट आयात गरिएका १० अर्ब रुपैयाँभन्दा बढी मूल्यका सामान तथा भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक अनुमान छ।
हिमालपार व्यापार संघका अध्यक्ष रामहरि कार्कीका अनुसार बाढीले चीनबाट ल्याइएका लत्ताकपडा, जुत्ताचप्पल, कस्मेटिक, इलेक्ट्रोनिक्स तथा फलफूललगायतका सामान बगाएको छ। उनका अनुसार ठूलो रकम लगानी गरेर सामान ल्याएका साना व्यवसायीहरू समेत गम्भीर आर्थिक संकटमा परेका छन्।
४–५ सय कन्टेनर बगेको अनुमान
हिमालपार व्यापार संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार प्रारम्भिक विवरणमा ४ सयदेखि ५ सय वटा कन्टेनर बाढीले बगाएको अनुमान गरिएको छ।
तीमध्ये करिब २ सयदेखि २ सय ५० वटा लोड भएका मालवाहक गाडी रहेको उनले बताए। एउटा गाडीमा करिब ५० लाखदेखि १ करोड रुपैयाँसम्मका सामान रहेको अनुमान गरिएको छ।
सामान र कन्टेनरको मूल्य मात्रै करिब ५ देखि ७ अर्ब रुपैयाँ पुग्ने र साना गाडी तथा अन्य भौतिक क्षति जोड्दा कुल नोक्सानी १० अर्ब रुपैयाँभन्दा बढी पुग्ने व्यवसायीहरूको प्रारम्भिक अनुमान छ।
संघमा आबद्ध ७६ जनाभन्दा बढी व्यवसायी प्रत्यक्ष रूपमा प्रभावित भएको बताइएको छ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्वअध्यक्ष कुमार कार्कीले पनि लोड गरिएका गाडीमा रहेका सामानको मूल्य मात्रै ५ अर्ब रुपैयाँभन्दा बढी रहेको बताएका छन्। उनका अनुसार वास्तविक बजार मूल्य र भन्सार मूल्यांकनबीच ठूलो अन्तर रहेकाले वास्तविक क्षति अझ बढी हुन सक्छ।
बिमा दाबीमा समस्या
बाढीले सामान बगाएपछि व्यवसायीहरूलाई बिमा दाबी गर्नसमेत समस्या देखिएको छ। धेरै सामान नेपाली भन्सार विन्दुमा प्रवेश गर्नुअघि नै चिनियाँ भू–भाग वा ‘नो म्यान्स ल्यान्ड’ क्षेत्रमा बगेकाले बिमा कम्पनीबाट क्षतिपूर्ति पाउन कठिनाइ भइरहेको व्यवसायीहरूको भनाइ छ।
त्यसमाथि धेरै सामानको बिमा नै नगरिएको व्यवसायीहरूले बताएका छन्। बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर र घरजग्गा धितो राखेर सामान आयात गरेका व्यवसायीहरू लगानी डुबेसँगै ऋणको किस्ता तथा ब्याज तिर्नुपर्ने दबाबमा परेका छन्।
दसैँ–तिहारमा सामानको अभाव र मूल्यवृद्धिको जोखिम
रसुवागढी नाका बन्द हुँदा दसैँ–तिहारका लागि नेपाली बजारमा आउनुपर्ने ठूलो परिमाणको सामान बाटोमै रोकिएको वा बाढीले बगाएको छ। यसले आगामी चाडपर्वमा बजारमा सामानको अभाव र मूल्यवृद्धि हुने जोखिम बढाएको व्यवसायीहरूले बताएका छन्।
नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखरेलका अनुसार दसैँमा बढी खपत हुने लत्ताकपडा, जुत्ता तथा कस्मेटिकलगायतका सामानको आपूर्तिमा असर पर्न थालेको छ।
आपूर्ति घट्दै जाने र चाडपर्वका बेला माग बढ्ने भएकाले बजार मूल्यमा दबाब पर्ने उनको भनाइ छ। त्यसमाथि वैकल्पिक नाकाबाट सामान ल्याउँदा ढुवानी खर्चसमेत बढेको व्यवसायीहरूले बताएका छन्।
रसुवागढी नाका बन्द भएपछि बाँकी सामान तथा नयाँ आयातलाई तातोपानी र मुस्ताङको कोरला नाकातर्फ मोड्ने प्रयास भइरहेको छ। तर, वैकल्पिक नाकाको पूर्वाधार तथा ढुवानी क्षमताले तत्काल ठूलो परिमाणको व्यापार धान्न सक्ने अवस्था नरहेकाले आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ।
क्षतिको विस्तृत विवरण संकलन भएपछि मात्रै बाढीबाट भएको वास्तविक व्यापारिक तथा भौतिक क्षतिको यकिन तथ्यांक आउने व्यवसायीहरूले बताएका छन्।


