नयाँ बीमाभन्दा पुरानै पोलिसीको भरमा जीवन बीमा व्यवसाय

नयाँ बीमाभन्दा पुरानै पोलिसीको भरमा जीवन बीमा व्यवसाय

१४ जीवन बीमा कम्पनीले उठाए २ खर्ब ६२ अर्ब बीमाशुल्क, कुल संकलनमा नवीकरणको हिस्सा ८२ प्रतिशतभन्दा बढी

बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • images

    काठमाडौं। जीवन बीमा कम्पनीहरूको व्यवसाय नयाँ बीमालेख विस्तारभन्दा पुराना पोलिसीको निरन्तरतामा बढी निर्भर देखिएको छ।

    सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले समीक्षा अवधिमा २ खर्ब ६२ अर्ब २५ करोड १९ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क सङ्कलन गर्दा त्यसको ठूलो हिस्सा नवीकरण बीमाशुल्कबाट आएको हो।

    नेपाल बीमा प्राधिकरणको तथ्या‌ंकअनुसार कम्पनीहरूले प्रथम बीमाशुल्कबाट ४५ अर्ब ११ करोड ८९ लाख रुपैयाँ मात्रै संकलन गरेका छन्। यसको तुलनामा नवीकरण बीमाशुल्क २ खर्ब १७ अर्ब १३ करोड ३८ लाख रुपैयाँ पुगेको छ। अर्थात् कुल बीमाशुल्कमा नवीकरण व्यवसायको हिस्सा ८२ प्रतिशतभन्दा बढी छ।

    यसले जीवन बीमा कम्पनीहरूको आम्दानीमा नयाँ ग्राहक थपिनेभन्दा पुराना बीमितले पोलिसी निरन्तरता दिनु मुख्य आधार बनेको देखाउँछ।

    नेपाल लाइफको वर्चस्व कायमै

    कुल बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ। कम्पनीले समीक्षा अवधिमा ६९ अर्ब ९३ करोड १५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

    नेपाल लाइफको कुल व्यवसायमध्ये १३ अर्ब ५९ करोड ६२ लाख रुपैयाँ प्रथम बीमाशुल्क र ५६ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ नवीकरण बीमाशुल्कबाट आएको छ। यसले कम्पनीको कुल बीमाशुल्कमा पनि नयाँ व्यवसायभन्दा पुराना पोलिसीको योगदान निकै ठूलो रहेको देखाउँछ।

    दोस्रो स्थानमा राष्ट्रिय जीवन बीमा कम्पनी छ। कम्पनीले ३९ अर्ब ९२ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यसमध्ये नवीकरण बीमाशुल्क ३७ अर्ब ४३ करोड ८१ लाख रुपैयाँ छ भने प्रथम बीमाशुल्क २ अर्ब ४८ करोड ९२ लाख रुपैयाँ मात्रै रहेको छ।

    नेसनल लाइफ इन्स्योरेन्स २९ अर्ब १३ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्कसहित तेस्रो स्थानमा छ। कम्पनीले ५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ प्रथम बीमाशुल्क र २३ अर्ब ८० करोड ८६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ।

    शीर्ष तीनकै व्यवसायमा ठूलो एकाग्रता

    तथ्यांकअनुसार पहिलो तीन कम्पनी नेपाल लाइफ, राष्ट्रिय जीवन बीमा र नेसनल लाइफले मात्रै १ खर्ब ३९ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्।

    यसले समग्र जीवन बीमा बजारमा केही ठूला कम्पनीको व्यवसायिक प्रभाव बलियो रहेको देखाउँछ।

    हिमालयन लाइफ इन्स्योरेन्सले २२ अर्ब ९४ करोड १२ लाख रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले २१ अर्ब ४१ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। सूर्यज्योति लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क १५ अर्ब १७ करोड ९५ लाख रुपैयाँ पुगेको छ।

    त्यस्तै, एशियन लाइफले ११ अर्ब ११ करोड, सिटीजन लाइफले ९ अर्ब ६० करोड, आईएमई लाइफले ९ अर्ब ९ करोड, सानीमा रिलायन्स लाइफले ८ अर्ब ५४ करोड र प्रभु महालक्ष्मी लाइफले ७ अर्ब ६१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

    रिलायबल नेपाल लाइफले ७ अर्ब ६ करोड, मेट लाइफले ६ अर्ब २ करोड र सन नेपाल लाइफले ४ अर्ब ६६ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

    कम्पनीगत तथ्यांकले जीवन बीमा बजारमा नयाँ व्यवसाय सिर्जना गर्नेभन्दा विद्यमान बीमालेखलाई निरन्तरता दिने व्यवसायको भार अत्यधिक रहेको देखाएको छ। कुल २ खर्ब ६२ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्कमध्ये प्रथम बीमाशुल्कको हिस्सा करिब १७ प्रतिशत मात्रै छ।

    क्र.सं. बीमा कम्पनी प्रथम बीमाशुल्क (रु. लाख) नवीकरण बीमाशुल्क (रु. लाख) कुल बीमाशुल्क (रु. लाख)
    १ नेपाल लाइफ इन्स्योरेन्स १३,५९६.२० ५६,३३५.३२ ६९,९३१.५२
    २ राष्ट्रिय जीवन बीमा कम्पनी २,४८९.२३ ३७,४३८.१७ ३९,९२७.४०
    ३ नेसनल लाइफ इन्स्योरेन्स ५,३२२.४३ २३,८०८.६२ २९,१३१.०५
    ४ हिमालयन लाइफ इन्स्योरेन्स ३,०५३.५८ १९,८८७.७१ २२,९४१.२९
    ५ लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) २,३५२.०६ १९,०६२.७३ २१,४१४.७९
    ६ सूर्यज्योति लाइफ इन्स्योरेन्स ३,२२८.५७ ११,९५०.९५ १५,१७९.५३
    ७ एशियन लाइफ इन्स्योरेन्स १,८९४.६४ ९,२१७.९४ ११,१११.७८
    ८ सिटीजन लाइफ इन्स्योरेन्स २,९७६.०३ ६,६२९.८८ ९,६०१.९९
    ९ आईएमई लाइफ इन्स्योरेन्स २,५४९.६० ६,५४४.४३ ९,०९४.०३
    १० सानीमा रिलायन्स लाइफ १,४०९.५७ ७,९३३.४५ ८,५४३.०२
    ११ प्रभु महालक्ष्मी लाइफ १,८४२.९४ ५,७६८.३६ ७,६११.२९
    १२ रिलायबल नेपाल लाइफ १,९०९.४३ ५,१६४.९६ ७,०६६.३८
    १३ मेट लाइफ १,४२७.१७ ४,६०१.४१ ६,०२८.५८
    १४ सन नेपाल लाइफ १,०७४.७१ ३,५९४.६८

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend