भारतीय लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको निम्तो : नेपालमा लगानीका लागि उपयुक्त समय

भारतीय लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको निम्तो : नेपालमा लगानीका लागि उपयुक्त समय

शनिवार, आश्विन ३ २०८३
शनिवार, आश्विन ३ २०८३
  • नयाँ दिल्ली। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी र व्यापार विस्तारका लागि भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई आह्वान गर्दै अहिले नेपालमा लगानीका लागि उपयुक्त समय रहेको बताएका छन्।

    नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)ले आयोजना गरेको व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालले उच्च आर्थिक वृद्धिको सम्भावना भएका क्षेत्रमा लगानीका पर्याप्त अवसर प्रदान गरिरहेको बताए।

    उनले नेपालमा पहिलेदेखि सञ्चालनमा रहेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न तथा नयाँ लगानीकर्तालाई नेपाली बजार र सम्भावनाको खोजी गर्न आग्रह गरे।

    अर्थमन्त्री वाग्लेले नेपाल सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण तथा संरचनात्मक आर्थिक रूपान्तरणको एजेन्डामा अघि बढिरहेको बताए। लगानीकर्ताका लागि अझ अनुमानयोग्य, पारदर्शी र लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधारलाई तीव्र बनाइरहेको उनको भनाइ छ।

    उनका अनुसार डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस पर्यटन र उत्पादन साझेदारीमा आधारित उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्वपूर्ण वाहकका रूपमा उदाउँदै छन्।

    ‘भारतीय व्यवसायीहरूलाई नेपाललाई बजारको रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृंखलामा एकीकरणका लागि रणनीतिक साझेदारका रूपमा हेर्न चाहन्छौँ,’ उनले भने।

    ऊर्जा, पर्यटनदेखि डिजिटल अर्थतन्त्रसम्म अवसर

    अर्थमन्त्री वाग्लेले नेपाल-भारत आर्थिक साझेदारीका लागि लगानी, उत्पादन, ऊर्जा, पर्यटन, कृषि, डिजिटल अर्थतन्त्रलगायत उदीयमान क्षेत्रमा ठूलो सम्भावना रहेको बताए।

    नेपाल र भारतबीचको लामो समयदेखिको आर्थिक सम्बन्धले द्विपक्षीय व्यापार तथा लगानी विस्तारका लागि बलियो आधार तयार गरेको उनको भनाइ छ।

    वार्षिक बजेट, कर सुधार तथा लगानीकर्तामैत्री नीतिगत पहलमार्फत सरकारले व्यवसायिक वातावरण सुधार, लगानीका अवरोध हटाउने र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि सहज बनाउने प्रयास गरिरहेको उनले बताए।

    भारतीय व्यवसायीले मागे लगानी वातावरणबारे जानकारी

    अन्तरक्रियामा सहभागी भारतीय व्यवसायी तथा सीआईआईका सदस्यहरूले नेपालमा व्यापार तथा लगानीका अवसर खोज्न रुचि देखाएका थिए।

    उनीहरूले अर्थमन्त्री वाग्लेसँग सम्भावित सहकार्यका क्षेत्रबारे छलफल गर्नुका साथै नेपालको लगानी नीति, लगानी सुविधा, विभिन्न क्षेत्रका अवसर तथा व्यवसायिक वातावरणबारे थप जानकारी मागेका थिए।

    अर्थमन्त्री वाग्लेको तीन दिने नयाँ दिल्ली भ्रमणको महत्वपूर्ण कार्यक्रमका रूपमा आयोजित अन्तरक्रियाले नेपाल सरकार र भारतीय निजी क्षेत्रबीचको सम्बन्ध थप सुदृढ गर्दै नेपालमा भारतीय लगानी तथा व्यवसायिक सहकार्य विस्तारका नयाँ सम्भावना पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले नेपाल-भारत आर्थिक सहकार्य, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा विपद्पछिको पुनर्निर्माणलाई सुदृढ बनाउने विषयमा भारतीय अधिकारी, व्यवसायी तथा नीतिगत समुदायसँग उच्चस्तरीय छलफल गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend