'अन्डर बिलिङ’को आशंकामा ट्रक रोकिएपछि सशस्त्रका एसपीलाई भन्सार अधिकृतको धम्कीपूर्ण फोन

'अन्डर बिलिङ’को आशंकामा ट्रक रोकिएपछि सशस्त्रका एसपीलाई भन्सार अधिकृतको धम्कीपूर्ण फोन

ट्याक्स खबर
बुधवार, आश्विन ७ २०८३
ट्याक्स खबर
बुधवार, आश्विन ७ २०८३
  • images

    धनगढी । राजस्व छलीको आशंकामा भारतीय मालबाहक ट्रक नियन्त्रणमा लिएपछि कञ्चनपुर भन्सार कार्यालय र सशस्त्र प्रहरीबीच विवाद चर्किएको छ। विवादका क्रममा कञ्चनपुर भन्सारका अधिकृत चक्रदेव भट्टले सशस्त्र प्रहरी बल कैलालीका प्रमुख एसपी खुमबहादुर केसीलाई टेलिफोनमार्फत धम्की दिएको अडियो सार्वजनिक भएको हो।

    गड्डाचौकी भन्सारबाट जाँचपास भएर छुटेको युपी ३१ सीटी १३०३ नम्बरको भारतीय ट्रक अत्तरियामा राजस्व चुहावटको सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। ट्रकमा टायर तथा ट्युब लोड गरिएको थियो।

    सार्वजनिक अडियोमा भट्टले भन्सारबाट प्रक्रिया पूरा गरेर छुटेको गाडी बाटोमा किन रोकिएको भन्दै एसपी केसीसँग प्रश्न गरेका छन्। केसीले न्यून मूल्यांकन (अन्डर बिलिङ) को आशंकामा गाडी नियन्त्रणमा लिइएको बताएपछि भट्टले गाडी तत्काल भन्सारमा नपठाए आईजीपी र गृहमन्त्रीसम्म पुग्ने चेतावनी दिएका छन्।

    भट्टले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गाडी नियन्त्रणमा लिएकोप्रति पनि प्रश्न उठाउँदै सुरक्षाकर्मीमाथि पैसा असुलीको आरोप लगाएका छन्। जवाफमा एसपी केसीले भने आफूलाई पैसा पाए, नपाएको जानकारी नभएको बताएका छन्।

    कुराकानीको अन्त्यतिर भट्टले एसपी केसीलाई समेत कारबाहीको भागीदार बनाउने चेतावनी दिएका छन्।

    सुरक्षाकर्मीका अनुसार ट्रकमा न्यून मूल्यांकन गरी राजस्व चुहावट भएको आशंका भएपछि नियन्त्रणमा लिइएको हो। भन्सार पक्षले भने प्रक्रिया पूरा गरेर जाँचपास भइसकेको गाडी बाटोमा रोकेर दुःख दिइएको दाबी गरेको छ।

    नियन्त्रणमा लिइएको ट्रक कैलाली भन्सार हुँदै थप छानबिनका लागि पुनः कञ्चनपुर भन्सार पठाइएको छ। घटनाले राजस्व अनुसन्धान र भन्सार तथा सुरक्षा निकायबीचको समन्वयमाथि प्रश्न उठाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend