काठमाडौं। सुनचाँदी तथा गरगहनाको कारोबारमा सरकारले सीप प्रवर्द्धन शुल्कको प्रशासन थप कडाइ गर्ने भएको छ।
आन्तरिक राजस्व विभागले सुन, चाँदी र तिनका गरगहना बिक्रीमा लाग्ने शुल्क असुली, लेखांकन र अनुगमनलाई व्यवस्थित गर्न नयाँ कार्यविधि लागू गरेको छ।
विभागले आर्थिक ऐनमा भएको व्यवस्थाअनुसार ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि’ जारी गरेको हो। कार्यविधिले शुल्क असुलीदेखि राजस्व दाखिला, कारोबारको लेखांकन, विवरण पेस, परीक्षण र पुनरावेदनसम्मका प्रक्रिया स्पष्ट गरेको छ।
नयाँ व्यवस्थाअनुसार नेपालमा उपभोगका लागि अन्तिम उपभोक्तालाई बिक्री गरिने सुन, चाँदी तथा तिनका गरगहनाको बिक्री मूल्यमा ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क लाग्नेछ। व्यवसायीले गहना वा वस्तु बिक्री गर्ने समयमा नै उक्त शुल्क उपभोक्ताबाट असुल गर्नुपर्नेछ।
यससँगै सुनचाँदी व्यवसायीले कारोबारको हिसाबकिताब राख्दा शुल्कसम्बन्धी विवरणसमेत स्पष्ट रूपमा देखाउनुपर्ने भएको छ।
पुरानो गहना साट्दा कहाँ लाग्छ शुल्क?
पुरानो सुनचाँदीको गहना दिएर नयाँ गहना बनाउने ग्राहकका लागि पनि कार्यविधिले छुट्टै व्यवस्था गरेको छ।
ग्राहकबाट पुरानो गहना खरिद गरी सोही ग्राहकलाई पुरानो तौल बराबरको मूल्यसम्म नयाँ गहना बिक्री गर्दा सीप प्रवर्द्धन शुल्क लाग्ने छैन। तर पुरानो गहनाको तौलभन्दा बढी सुन वा चाँदी थपेर नयाँ गहना बनाइएमा थपिएको धातुको मूल्य र सम्पूर्ण ज्यालाजर्तीमा ०.५ प्रतिशत शुल्क असुल गर्नुपर्नेछ।
सुनचाँदी बेच्दा बिल र परिचयपत्र चाहिने
सर्वसाधारणले व्यवसायीलाई सुन, चाँदी वा गरगहना बिक्री गर्दा आफ्नो पहिचान खुल्ने कागजात पेस गर्नुपर्नेछ।
त्यसका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वा प्यान कार्डको प्रतिलिपि आवश्यक पर्नेछ। साथै आफूले उक्त सुनचाँदी वा गहना खरिद गरेको बिल वा अन्य प्रमाण पनि देखाउनुपर्नेछ।
विदेशबाट ल्याइएको सुनचाँदी भएमा त्यसको भन्सारसम्बन्धी कागजात वा आधिकारिक प्रमाणसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
कालीगढलाई पनि प्यान अनिवार्य
गरगहना बनाउने कालीगढले स्थायी लेखा नम्बर (प्यान) लिनुपर्नेछ। पसलबाट कालीगढकहाँ वा कालीगढबाट पसलमा सुनचाँदी ओसारपसार गर्दा आन्तरिक राजस्व कार्यालयको छाप लागेको तोकिएको ढाँचाको चलान साथमा राख्नुपर्नेछ।
व्यवसायीले आफ्नो पसलमा कार्यविधिले तोकेको ढाँचाको सूचना पाटीसमेत राख्नुपर्नेछ।
हरेक महिना विवरण, कारोबार नभए पनि पेस गर्नुपर्ने
सीप प्रवर्द्धन शुल्क लाग्ने कारोबार गर्ने व्यवसायीले प्रोद्भावी (एक्रुअल) आधारमा लेखांकन गर्नुपर्नेछ।
कारोबार भएको वा नभएको दुवै अवस्थामा प्रत्येक महिनाको विवरण अर्को महिनाको २५ गतेभित्र सम्बन्धित राजस्व कार्यालयमा पेस गर्नुपर्नेछ।
समयमै विवरण नबुझाएमा प्रतिदिन ०.०५ प्रतिशत वा प्रतिविवरण १ हजार रुपैयाँमध्ये जुन बढी हुन्छ, त्यति थप शुल्क लाग्नेछ।
व्यवसायीले संकलन गरेको सीप प्रवर्द्धन शुल्क पनि अर्को महिनाको २५ गतेभित्रै राजस्व शीर्षक नम्बर ११४१३ मा दाखिला गर्नुपर्नेछ। तोकिएको समयभित्र रकम दाखिला नगरेमा वार्षिक १५ प्रतिशत ब्याज लाग्ने व्यवस्था छ।
शुल्क छल्दा असुलेको रकममै शतप्रतिशत थप जरिवाना
विभागले कारोबार परीक्षणका क्रममा शुल्क छली भएको भेटिएमा थप कारबाही गर्ने भएको छ।
सीप प्रवर्द्धन शुल्क असुल नगरेको, कारोबार खण्डीकरण गरेर लुकाएको वा वास्तविकभन्दा कम कारोबार घोषणा गरी शुल्क छलेको पाइएमा कर अधिकृतले शुल्क निर्धारण गर्नेछन्।
यस्तो अवस्थामा व्यवसायीले तिर्नुपर्ने निर्धारित शुल्कमा शतप्रतिशत थप अतिरिक्त शुल्क (जरिवाना) लाग्नेछ।
यसले सुनचाँदी कारोबारमा बिक्रीको हिसाब, पुरानो गहना साटफेर, कालीगढमार्फत हुने उत्पादन तथा उपभोक्ताबाट उठाइएको शुल्कको अभिलेखलाई राजस्व प्रशासनको प्रत्यक्ष निगरानीमा ल्याउने भएको छ।


